गोरखा सैनिकका मागबारे प्रचण्डको चासो, बेलायतले दियो यस्तो जवाफ

काठमाडौं, फागुन १० । नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल भएको छ ।

भेटमा राज्यमन्त्री ल्याङकेष्टरसँग अध्यक्ष प्रचण्डले नेपाली शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए भने गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए ।

प्रचण्डले आफूहरुको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको र वैदेशिक लगानीकर्ताहरुलाई आकर्षित गर्न वर्तमान सरकार लागि परेको समेत बताएका थिए ।

चार दिवसीय नेपाल भ्रमणमा रहेका राज्यमन्त्री ल्याङकष्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको बताए ।

राज्यमन्त्रीले गोर्खा सैनिकहरुले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको दाबी गरेका थिए । उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि एक उदाहरणको रुपमा रहेको धारणा व्यक्त गर्दै नेपाल सरकार र राजनीतिक दलहरुको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्