रोल्पामा जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा शान्ति स्मारक
काठमाडौ । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका तथा बेपत्ता भएका रोल्पालीको सम्झनामा निर्माण गरिने शान्ति स्मारकको लिवाङमा शिलान्यास गरिएको छ ।
द्वन्द्वमा समयमा श्रीमान् गुमाएकी तुला वली, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले विहिबार संयुक्तरुपमा स्मारकको शिलान्यास गरेका हुन् ।
रोल्पा नगरपालिकाको रु १ लाख ५० हजार र मानव अधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको ४ लाख गरी कुल ५ लाख ५० हजारको लागतमा बन्ने भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बुढाले बृहत शान्ति सझौताको मर्म अनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगले पनि जिम्मेवारी पूरा गर्नेमा आफू आशावादी रहेको बताए। जनयुद्धमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरुको परिवारलाई राज्यले केही राहत दिएको भए पनि त्यो अपुग रहेको उहाँको भनाइ थियो ।
जनयुद्धका क्रममा ज्यान गुमाएका र बेपत्ता भएका रोल्पालीको शान्ति स्मारकमा नाम राखिने मानव अधिकार तथा कानुनी सेवा केन्द्र, रोल्पाका खेम बुढाले जानकारी दिए ।
माओवादी सशस्त्र युद्धमा देशमै सबैभन्दा धेरै धनजनको क्षति भएको रोल्पामा राज्य र विद्रोही पक्षबाट ९७० जनाले ज्यान गुमाएका थिए भने ३३ जना बेपत्ता भएका थिए ।
शान्ति स्मारकमा २०५२ साल फागुन १ देखि २०६३ साल मंसिर ५ गतेसम्म ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिको नाम र ठेगाना राखिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्