कक्षा ११ को नतिजा ढिलोमा पुसको तेस्रो सातासम्ममा सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाइ गरेको छ ।
बोर्डका परीक्षा नियन्त्रक डम्बरकुमार बतासले कुरा गर्दै उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण, रुजु र इन्ट्री गर्ने काम भइरहेको जानकारी दिए। ढिलोमा पुसको तेस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको उनले बताए । नतिजा सार्वजनिक गर्न ढिलाइ हुँदा परीक्षाफल प्रकाशित भएको एक महिनामा आउने मौका परीक्षा, त्यसपछि कक्षा १२ को परीक्षा, शिक्षाशास्त्र पढ्नेहरुको त्यही बीचमा पर्ने एकमहिने टिचिङ प्राक्टिस जस्ता कारणले विद्यार्थीको पढाइमा धेरै बोझ थपिने भए पनि बोर्डले यसतर्फ ध्यान नदिएको विद्यार्थीले गुनासो गरेका छन् । तर नियन्त्रक बतासले भने कक्षा ११ को नतिजामा ढिलाइ हुँदा विद्यार्थीलाई कुनै असर नपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्