प्रचण्डले काँध थापेका मादुरोको पद धरापमा
काठमाडौ, फागुन ८ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाविरुद्ध विज्ञप्ति निकालेर काँध थापे पनि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको पद भने धरापमा छ ।
कुनै समय अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरुको संगठन रिमको कार्यकारी पदमा रहेका प्रचण्ड कारबाहीमा परेपछि उनी अन्तर्राष्ट्रिय कम्युनिष्ट केन्द्र बनाउने तयारीमा थिए ।
त्यसैको तयारी थियो भनिन्छ, भेनेजुएला प्रकरणमा आएको प्रचण्डको विज्ञप्ति । नेपाललाई कुटनीति झमेलामा फसाएको भेनेजुएला प्रकरणका मुख्य पात्र एवं भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो देश छाडेर कुनै पनि बेला भाग्ने तयारी रहेको ब्लूमवर्ग लगायत अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
ब्लूमवर्गले विभिन्न स्रोतहरुलाई उल्लेख गर्दै मादुरोको सुरक्षित वहिर्गमनका लागि रुस, टर्की, क्युवा र मेक्सिकोसँग अनौपचारिक पहल भइरहेको जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार मादुरोले विना कुनै सर्त देश छाड्ने भएमा अमेरिकाले समेत अघोषित समर्थन जनाउने संकेत दिएको छ ।
यसअघि मादुरोले देशबाहिर लैजान खोजेको भनिएको २० टन सुन लाने निर्णय अहिलेलाई स्थगित गरिएको छ । देशभित्रै तीब्र विरोध खेपिरहेका मादुरोको निर्णयमा सरकारी अधिकारीहरुनै तगारो बन्ने देखिएपछि सुन बाहिर लैजाने निर्णय तत्काललाई स्थगित गरिएको बताइएको छ ।
संघीय राष्ट्रपतिय पद्धति रहेको भेनेजुएला स्पेनबाट १८११ जुलाईमा स्वतन्त्र भएको हो । भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेपाल समेत कुटनीतिक झमेलामा परेको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले वक्तव्य जारी गर्दै अमेरिकाको विरोध र भेनेजुएलाको समर्थन गरेपछि नेपालको कुटनीति अन्तर्राष्ट्रिय विवादमा फसेको हो । यो विवाद कुटनीतिक तहमा मात्रै समिति रहेन, नेपालको राजनीति नै तरंगित भयो । सत्ताधारी नेकपामा त, भूकम्पै गयो भन्दा पनि फरक नपर्ला ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी नै चल्यो । ओलीले प्रचण्डको शब्द चिप्लिएको हो, भने । प्रचण्डले ओलीको टिप्पणी पचाउन सकेनन् । भोलिपल्टै प्रचण्डले ‘माओवादी सिद्धियो भनेर बुझियो भने, अर्को माओवादी जन्मिन्छ, फेरि मुलुक ठूलो द्वन्द्वमा फस्छ’ भनी तर्साए ।
वक्तव्यमा के भनेका थिए प्रचण्डले ?
भेनेजुएलाका जनतालाई विभाजित गरी प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिई हिंसा बढाउने मनसायसहित भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठबन्धन राष्ट्रले गरेको हस्तक्षेपको नेकपा भत्सर्ना गर्दछ ।’
‘ भेनेजुएलाको आन्तरिक मामिलामाथिको यो हस्तक्षेप र साम्राज्यवादी कुको प्रयास अस्वीकार्य छ,’ ‘अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुयलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ । यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो ।’
प्रतिक्रिया दिनुहोस्