नेपाल एलपी ग्यास उद्योगीको चेतावनी- कमिसन नबढे ग्यासको बिक्री रोक्छौं !

काठमाडौं, फागुन ८ । कमिसन वृद्धि लगायतका माग गर्दै नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

उसले सरकारलाई १० दिने अल्टिमेटम दिँदै आयात रोकी ग्यासको बिक्री बितरण बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले उद्योगहरुको यथार्थ सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, मुनाफा तथा बिक्रेतारवितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने माग गरेको छ ।

अनाधिकृतरुपमा उद्योग सञ्चालनका लागि दिइएको इजाजत, सम्बन्धन र अनुमति खारेज गर्नुपर्ने संघका महासचिव दिवान चन्दले बताए ।

अहिले सञ्चालनमा रहेका उद्योगहरु नै पर्याप्त रहेको भन्दै संघले अब नयाँ उद्योग आवश्यक नरहेको तर्क गरेको छ । कुनै अध्ययन र छलफल बिना नै तराईका केही उद्योगलाई फरक बिक्री मूल्य कायम गरिएकोले त्यसबाट भएको क्षतिपूर्ति दिलाएर तराईका सबै स्थानका लागि एउटै बिक्री मूल्य कायम गर्नुपर्ने संघको माग छ ।

यस्तै संघले नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालनका लागि कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ । हाल भारतमा नेपाली व्यवसायीले निर्माण गर्न दिएका बुलेटहरु अलपत्र छन् ।

भारत सरकारले बिस्फोटको खतरामुक्त प्रमाणित नगर्दा नेपाली व्यवसायीले किनेका बुलेटले ग्यास बोक्न पाएका छैनन् । यस्तै संघले ६र६ महिनामा निर्धारण हुने ग्यासको मासिक कोटा प्रमाणीकरण भएका सिलिण्डरका आधारमा तोक्नुपर्ने माग पनि अघि सारेको छ ।

ग्यास किन्दा बुझाउनुपर्ने पीडीओको रकम विद्युतीय माध्यममार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गर्न पनि माग गरेको छ ।

ग्यास सिलिण्डर बिस्फोट हुने क्षतिको बीमासम्बन्धी आवश्यक नीति तत्काल कानूनमा नै व्यवस्था गर्नुपर्ने, एलपी ग्यास विनियमावली, २०६५ तत्काल संशोधन गर्नुपर्ने र स्थानीय तहहरुबाट एलपी ग्यासको लागत वृद्धि हुनेगरी लगाइएका करहरु हटाउनुपर्ने माग गरिएको छ ।

यदि आफ्ना माग पूरा नभए संघले फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने घोषणा गरेको छ । फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने संघको चेतावनी छ ।

यति गर्दा पनि सरकारले माग सम्बोधन नगरे फागुन ३० गतेदेखि सबै ग्यास डिपोहरु बन्दगरी आन्दोलनमा उत्रने संघका महासचिव चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्