निर्वाचन आयोग प्रदेशसभाको समानुपातिकत सिट बाँडफाँट गर्ने तयारीमा

काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सकिएको यतिको दिन हुँदा पनि समानुपातिकतर्फको सिट बाँडफाँट गर्न नसकेको आरोप खप्दै आएको निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने तयारी गरेको छ ।
प्रदेशसभाको समानुपातिकतर्फको गणना पुस २ गते सकाएको आयोग सिट बाँडफाँटको अन्तिम तयारीमा जुटेको हो ।

प्रदेशसभाको कूल ५५० सिटमध्ये २२० समानुपातिक प्रणालीमार्फत छनोट गर्ने व्यवस्थाअनुसार मतदान भएको थियो । प्रत्यक्षतर्फको ३३० स्थानको परिणाम भने आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा रहेको समानुपातिक निर्वाचन एकाईको कार्यालयले मत परिणामको पुनः परीक्षण गरिरहेको र त्यसले प्रतिवेदन बुझाएलगत्तै घोषणा हुने जानकारी दिए । उनले भने
‘आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको पुनः परीक्षण गर्ने काम गरिरहेको छ, प्रतिवेदन बुझाएलगत्तै हामी परिणाम घोषणा गर्छौं ।’

समानुपातिक निर्वाचन प्रणालीको कूल सदरमतको १/५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था निर्वाचन आयोगले गरेको छ । कुल सदर मतको एक दशमलव पाँच प्रतिशतभन्दा कम मत ल्याएकाको गन्य हुनेछैन ।

प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम परिणाम घोषणाको तयारी गरिए पनि प्रतिनिधिसभाको सिट बाँडफाँट टुंगो लगाउन भने अझै केही दिन लाग्ने भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम क्याल्कुलेट गर्ने काम अहिले भइरहेको प्रवक्ता ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्