सामाजिक सुरक्षा कोषमा १६ सय २० उद्योग प्रतिष्ठान दर्ता, समयावधि थप्ने तयारी

काठमाडौं, फागुन ७ । उपत्यकाका तीन जिल्लाका उद्योग तथा सेवा क्षेत्रहरुको सामाजिक सुरक्षा कोषमा दर्ता हुने मिति सकिएको छ ।

कोषले उपत्यकाभित्रका संस्था, उद्योगहरुलाई तीन महिनाभित्र सूचीकृत हुन आह्वान गरेको समयसीमा आइतबार सकिएको हो ।

तर, कोषले निर्धारण गरेको समयमा भने निकै कम संख्यामामात्र संस्थाहरु दर्ता भएका छन् ।

कोषले मंसिर ५ गतेबाट फागुन ५ गतेसम्म कोषमा सूचीकृत हुन उद्योग प्रतिष्ठानहरुलाई आह्वान गरेको थियो ।

हालसम्म देशैभरिबाट जम्ममा १६ सय २० ओटा संस्थामात्र दर्ता भएको कोषले जनाएको छ । यसमध्ये १४ सयओटा व्यवसायिक संस्था र २२० ओटा प्रदेशका रहेका छन् ।

कोषमा संस्था दर्ताका लागि प्रदेश नम्बर–७ का उद्योग प्रतिष्ठानलाई वैशाखसम्मको समय दिइएको छ ।

कोषबारे जानकारी कम हुँदा उद्योग प्रतिष्ठान आकर्षित हुन नसकेको प्रवक्ता रमा भट्टराईले बताइन् ।

सामाजिक सुरक्षा कोषबारे थप जानकारी दिँदै दर्ताका लागि समय थप्ने र त्यसपछि पनि दर्ता नभए कानुनी दायरामा ल्याउने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्