संसदीय सुनुवाई विशेष समिति: अध्यक्षद्वय पौडेल र सुवेदीको सुनुवाई ७ गते

काठमाडौं,फागुन ५ । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीको सुनुवाई फागुन ७ गते मंगलबार गर्ने भएको छ ।

समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदले गरेका सिफारिस गरेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष सुवेदीको सुनुवाई फागुन ७ गते दिउँसो १२ बजे गर्ने निर्णय गरेको हो । संवैधानिक परिषदले गरेका विभिन्न पाँच वटा आयोगको पदाधिकारीमाथि एउटा मात्रै उजुरी समितिमा परेको छ ।

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि मात्रै एउटा उजुरी परेको पाइएकाले त्यसको अध्ययन गरी उजुरीकर्तामाथि पनि फागुन ७ गते नै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

माघ ६ गते बसेको संवैधानिक परिषद बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सुवेदी, मधेशी आयोगको अध्यक्षमा डाक्टर विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।

तर विपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको परिषद बैठकले गरेको सो निर्णयप्रति असहमति जनाउँदै काँग्रेसले पनि उनीहरुमाथिको संसदीय सुनुवाई प्रक्रियानै बहिष्कार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्