कांग्रेसका सांसदद्वारा आज पनि सुनुवाइ समिति बहिस्कार

जागरण न्युज
काठमाडौं, ५ फाल्गुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज –फाल्गुन ५ गते) पनि संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ ।

काँग्रेस सांसदले संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न आइतबार बसेको बैठक बहिस्कार गरेका हुन् ।

१५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने चारै जना सांसदले बहिष्कार गरेका हुन् ।
संवैधानिक परिषदले प्रक्रिया नर्पुयाई विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै कांग्रेसले संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गर्दै आएको छ ।

प्रतिपक्षी दलको नेता तथा पार्टी सभापती शेरबहादुर देउवाको उपस्थितिविनै गत माघ ६ गते बैठक बसेर संबैधानिक आयोगका पदाधिकारी सिफारिस भएको भन्दै कांग्रेसले आपत्ति जनाउदै आएको छ ।
गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र मधेसी आयोगको अध्यक्ष नियुक्ति गरेको थियो ।

कांग्रेसको बहिस्कारका बाबजुद आइतबार बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ ।

नेपालको संविधानको धारा २९२ ले संवैधानिक परिषद्को सिफारिसमा हुने नियुक्तिमा संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुरुप समितिको कार्यविधिअनुरुप सिफारिस भएका अध्यक्षमाथि उजुरी गर्न १० दिन समय दिएको थियो ।

सो समय आज सकिएको हुनाले उजुरी खोलिएको हो । संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएमा सिफारिसअनुसार नियुक्ति हुनेछ । तर सो प्रक्रियाबाट अनुमोदन नगरेको अवस्थामा भने नियुक्ति प्रक्रिया रोकिनेछ ।

सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले फागुन ७ गतेको बैठकमा कांग्रेसले बहिस्कार गरे पनि बहुमतले निर्णय गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्