खनिज सम्पदा महाशाखाद्धारा १२९ कम्पनीलाई खनिज उत्खनन अनुमति

काठमाडौ । खानी तथा भूगर्भ विभाग अन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरि १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ ।

अनुमति दिएका खानीमध्ये चुनढुंगा ५२, क्वार्ज ४, रातोमाटो ५, कोइला १४, सिसा ३, टल्क १२, फलाम ३, डोलोमाइट १, मार्बल ३, स्ल्याब ८, म्याग्नेसाइट १, जिङ्क १, कायनाइट ९, क्याल्साइट १ र टुर्मालिनका १२ रहेका छन् ।

खनिजका लागि महाशाखाले ३६४ स्थानमा अध्ययन गरेतापनि जम्मा १२९ स्थानमा मात्र उत्खननका लागि अनुमति दिएकोे छ महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिए । “सबै खोजतलास गरेका ठाँउमा खनिज हुन्छ भन्ने हुँदैन, खनिज पत्ता लागेको ठाउँमा मात्र उत्खनन गर्ने हो”– घिमिरेले भने ।

नेपालमा उत्खनन गर्न लागेका खनिजमध्ये अधिकांश स्वदेशी लगानीमै उत्खनन भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ४ खनिजको उत्खनन भारतीय र तीन खनिजको उत्खनन चिनियाँ कम्पनीले गर्न लागेको छ ।

नेपालमा उत्खनन गरिएका खनिजलाई अति महत्वपूर्ण, महत्वपूर्ण र साधारण गरी तीन भागमा छुट्टाइएको छ । तीमध्ये अति महत्वपूर्णमा बहुमूल्य धातु पर्छन् जुन सुन, चाँदी, हीरा लगायतका पर्छन् । महत्वपूर्णमा चुनढुंगा, काइनाइट, फलाम र साधारणमा रातोमाटो, गिट्टी, बालुवा पर्दछन् ।

देशमा उत्पादित काइनाइट, टुर्मालिन र क्वार्जजस्ता खनिज पदार्थलाई मूल्य अभिवृद्धि र प्रविधिको अभावका कारणले दुई वर्षदेखि विदेशमा निकासी गर्न नसकिएको महाशाखा प्रमुख घिमिरेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्