संघीयताले खर्च बढ्यो भन्नु भ्रम होः मुख्यमन्त्री पोखरेल

जागरण न्युज
काठमाडौं, फागुन ३ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयताले खर्च बढ्यो भन्नु गलत भएको बताएका छन ।

प्रदेश ५ सरकार स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले उनले भने, ‘संघीयता वा प्रदेश सरकार देख्न नचाहनेले संघीयताले खर्च बढायो भनेर भ्रम छरेका छन तर विगतमा जनतालाई जिल्ला सदरमुकाम र राजधानी काठमाडौं धाउनुपर्दा लाग्ने सबै खर्च घटेको छ, यो कुरा हामीले बुझाउनुपर्छ ।’

मुख्यमन्त्री पोखरेलले संघीय व्यवस्थामा तीन तहका सरकारका लागि १५ प्रतिशत कर्मचारी र १५ प्रतिशत खर्च बढी लागे पनि जनताले सेवा लिन गर्नुपर्ने खर्च घटेको समेत दावी गरे ।

संघीयता कार्यान्वयनमा आउनुअघि भन्दा अहिले कुल गार्हस्थ उत्पादन र आर्थिक वृद्धिदर पनि बढेको उनले भने, ‘संघीयता कार्यान्वयनका सन्दर्भमा प्रदेश ५ सरकार र संघीय सरकारबीच कुनै दुरी नरहेको बरु सहकार्य र सुमधुर सम्बन्ध रहेको छ । ’
उनले केन्द्र सरकारबाट साझा सूचीका कानुन निर्माण र संविधानसंग बाझिएका पुराना कानुन संशोधनमा विलम्ब भएकाले प्रदेश सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्न नपाएको बताए ।

प्रदेशको दीर्घकालीन समृद्धिको आधार पर्यटन भएको उल्लेख गर्दै उनले अब लुम्बिनीको पर्यटन प्रवद्र्धनको जिम्मेवारी संघले प्रदेश सरकारलाई दिनुपर्ने बताए । लुम्बिनी गुरुयोजना र अन्य विकास निर्माण लुम्बिनी विकास कोषले गरे पनि पर्यटन प्रवद्र्धनको जिम्मा प्रदेश सरकारलाई दिन संघीय सरकारलाई आग्रह गरिसकिएको समेत उनले बताए ।
२०७६ को बुद्ध पूर्णिमाको दिन लुम्बिनी भ्रमण वर्ष शुरु गर्ने तयारीमा रहेको मुख्यमन्त्रीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्