प्रधानमन्त्रीद्वारा पानीजहाज कार्यालयको उद्घाटन, पानीजहाज समुद्रमा चल्ने टुंगो भने छैन

काठमाण्डौ, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् ।

बिहीबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए ।

सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै उनले नेपाल जस्तो भुपरिवेष्टित राष्ट्रका लागि यो गौरवको कुरा भएको बताए ।
नेपालमा पानीजहाज आउने र नेपालको झण्डा भएको पानीजहाज समुद्रमा चल्ने टुंगो नभए पनि पानीजहाजको कार्यालय भने खुलेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहने कार्यालयमा सहसचिव नेतृत्वमा १६ कर्मचारीको दरबन्दी छ ।

पानीजहाज चलाउनु पहिले आवश्यक गृहकार्य गर्नुपर्ने भएकाले कार्यालय स्थापना र कर्मचारी खटाउने काम भएको सरकारको भनाई छ ।

मन्त्रिपरिषदको पुस ३० गते बसेको बैठकले पानीजहाज कार्यालय खोल्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो । दोस्रो पटक प्रधानमन्त्री भएपछि उहाँले यही २०७५ को पुष १६ गते भित्र पानीजहाज सञ्चालन भइसक्ने दावी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्