सरकारी चिकित्सक संघको आन्दोलनः माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी

काठमाडौँ, माघ २९ । कर्मचारी समायोजन अध्यादेशको विरोधमा आइतबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका सरकारी चिकित्सक संघले आज पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ ।

संघको अगुवाईमा मंगलबार माईतिघरमण्डलामा चिकित्सकहरुले विरोध प्रदर्शन गरेका हुन् ।

पुष २९ गते स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघबीच माग सम्बोधनको गर्न समिति गठन गर्ने सहमति भएपछि चिकित्सकले आन्दोलन स्थगित गरेका थिए ।

तर एक महिनासम्म पनि मन्त्रालयले सहमति कार्यान्वयनतर्फ चासो नदेखाएको भन्दै आइतबारदेखि संघले दोस्रो चरणको आन्दोलन थालेको हो ।

सरकारी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा। निपेन्द्र पाण्डेले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई जारी राखिने बताए । चिकित्सकको मागलाई सरकारले बेवास्ता गरे सम्पूर्ण चिकित्सकले राजीनामा दिनेपनि उनले चेतावनी दिए ।

यता मन्त्रालयले भने कर्मचारी समायोजन अध्यादेशको विषय सामान्य प्रशासन मन्त्रालयले हेर्ने हुँदा मन्त्रालयलाई चिकित्सकको मागको बारेमा जानकारी गराई सकेको जवाफ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्