नेविसंघ अध्यक्ष नैनसिंह महरले दिए राजीनामा

जागरण न्युज

काठमाडौं, २८ माघ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संगठन संंघका अध्यक्ष महरले सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा नेविसंघकैबारे छलफल भईरहको बैठक स्थलमा महरले राजीनामापत्र बुझाइएको बुझिएको छ ।

‘पार्टीले अर्काे निर्णय नभइन्जेलसम्म यसैलाई निरन्तरता दिने भन्यो तर अहिलेसम्म निर्णय गरेन,’ अध्यक्ष महरले राजीनामा दिनुअघि सञ्चारकर्मीसंग भने, ‘खाली पदमा मात्र बसिराख्ने, लिजिटिमेसी पनि सकिने कुरा मलाई मन परेन ।’

नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिई सकेका छन् ।

११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद भदौ २ गतेसम्म थियो । तर, आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो ।

थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिएको छ ।

पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले गत पुस २८ गते महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको थियो ।

यद्यपि नेपाली कांग्रेसले आगामी स्ववियु निर्वाचनसम्म यही कार्यसमितिलाई निरन्तरता दिने भनेको थियो । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्