अब ट्राफिक जरिवाना तीन गुणासम्म बढ्ने, मोबाइल चलाए पनि कारबाही

काठमाडौँ, माघ २७ । अब ट्राफिक जरिवाना तीन गुणासम्म बढ्ने भएको छ। अहिले सामान्यतया ५ सयदेखि ५ हजारसम्म जरिवाना तोकिएको छ।

विभागले ९ हजारसम्मको पनि जरिवाना गर्न सक्छ। अब आउने नयाँ ऐनमा १५ सयदेखि १५ हजारसम्म जरिवाना तोक्ने विभागले तयारी गरेको छ। अहिले सङ्घीय ऐनको विभागले मस्यौदा तयार पारिरहेको छ। करिब दुई सातामा मस्यौदा तयार हुनेछ।

पछिल्लो समय न्यून जरिवाना रहेका कारण ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्या बढेको र त्यसले दुर्घटना समेत बढेपछि जरिवानामा वृद्धि गर्न लागिएको हो।

सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लङ्घनको जरिवाना प्रकृति हेरेर बढीमा तीन गुणासम्म बढाउन लागिएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन्।

जरिवाना बढाएर पछि ट्राफिक नियम उल्लङघन कम हुने विभागको भनाई छ।

यस्तै सवारीसाधन चलाउँदा मोबाइल फोन चलाए जरिवाना गर्ने नियम ल्याउन पनि लागिएको छ। अहिले मोबाइल फोन चलाएर कस्तो कारबाही गर्ने भन्ने तोकिएको छैन।

विभागले समसामयिक रूपमा ऐनलाई परिमार्जन र यातायात सुधारका लागि नयाँ नियम ल्याउन लागेको हो।

करिब दुई सातामा ड्राफ्ट तयार हुने र त्यसमाथि छलफल गरेर टुङगो लगाइने उपाध्यायले बताए। धेरैजसो अधिकारहरू प्रदेश मातहत हुने छन्। उनीहरूले सङ्घीय ऐनसँग नबाझिने गरी ऐन बनाउनुपर्छ। सङ्घीय ऐन गाईडलाइन्स हुने विभागको भनाई छ।

प्रतिक्रिया दिनुहोस्