भेनेजुएला प्रकरण: प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने कांग्रेस सांसदहरुको माग

काठमाडौं, माघ २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे संसदमै आएर जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद डिला संग्रौला र भीमसेनदास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ दल नेकपा र सरकारले अनावश्यक बोलेर देशलाई नै विवादमा फसाएको भन्दै जवाफ दिन प्रधानमन्त्रीसँग माग गरे ।

सांसद संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिबारे अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको धारणाले अन्योलता सिर्जना गरेको दाबी गरिन् । नेकपाका अध्यक्ष दाहालको विज्ञप्तिपछि नेपाल र अमेरिकाबीचको सम्बन्धमा चिसोपन आएको उनको भनाइ थियो ।

कांग्रेसकै अर्का सांसद प्रधानले कूटनीतिजस्तो संवेदनशील विषयलाई सरकारले हल्का रुपमा लिएको आरोप लगाए । उनले भेनेजुएलाबारे कसले बोलेको आधिकारिक हो भन्ने विषयमा प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिनुपर्ने बताए ।

कांग्रेसका सांसदहरुले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएको अमेरिकालाई सरकारले चिढ्याउने काम गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्