३३ किलो सुन प्रकरणः यूएईबाट सुन पठाउने हरिशरण खड्का पक्राउ

जागरण न्युज
काठमाडौं, २२ माघ । चर्चित ३३ किलो सुन तस्करी प्रकरणका आरोपित हरिशरण खड्का यूएईमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरि खड्का भनेर चिनिने हरिशरण खड्का छन् ।
काभ्रे घर भएका ४० वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन ।
खड्कालाई केही दिनअघि यूएईमा प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, काठमाडौंले जनाएको छ । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।
यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दूबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।
पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्यार्उने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरिसकेको छ ।

३३ किलो सुन प्रकरणमा रेड नोटिस जारी भएका मध्ये रमेश उप्रेती र बेनु श्रेष्ठ यूएईमै पक्राउ परिसकेका छन् भने मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ अझै फरार छन ।

प्रतिक्रिया दिनुहोस्