राजधानीको माग गर्दै चक्काजाम, यात्रुहरु अलपत्र

काठमाडैं । प्रदेश १ मा संसदीय र प्रदेश सभाको चुनाव प्रचारका बेला विशेषतः धनकुटा, धरान, इटहरीका प्रायः सबै पार्टीका उम्मेदवारहरुले प्रदेशको राजधानी बनाउने प्रतिबद्धता जनाउँदै चर्को भाषण गरेका थिए । भाषणमा मात्र सीमित नभई प्रदेश राजधानीको कुरा प्रतिबद्धता पत्रमा समेत उल्लेख गरिएका थिए ।

अहिले पहिलो प्रदेश सभाको बैठक कहाँ आयोजना गर्ने भन्ने ठाउँ विशेष देखी राजधानी राख्ने विषयमा जनताले दुःख पाउन थालेका छन् । नेताहरुको प्रतिबद्धताले राजधानी नबन्ने अवस्थाले राजनीतिक दलहरुले कार्यकर्ता लाई आन्दोलनमा समेत उतार्न थालेका छन् । राजधानी र प्रदेश सभाको बैठकस्थलकै लागि अब आन्दोलन शुरु हुने देखिएको छ । यसरी राजधानी माग गर्दै आन्दोलनमा उत्रिनेमा धनकुटा पहिलो भएको छ ।

धनकुटामा प्रदेशको राजधानी हुनुपर्ने माग गर्दै सोमवार धनकुटाका मागकर्ताहरुले हडतालको आव्हान गरेकाले धरानदेखी उत्तर पहाडी जिल्लाहरुका रुटमा चल्ने यातायात ठप्प रह्यो । धरानबाट दैनिक पूर्वी पहाडका धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, संखुवासभा चल्ने साना, ठूला सार्वजनिक सवारी ठप्प हुँदा सयकडौं यात्रीहरु भानुचौक बसपार्कमा अलपत्र परे । पछिल्लो समय पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा धरानबाट सिधै चल्ने साना भाडाका सवारीहरु समेत चक्काजामले चल्न सकेनन् । सार्वजनिक यातायातका साथै ढुवानीका साधनहरु पनि बन्द रहे । ट्रक व्यवसायी संघका पृथ तामाङका अनुसार धनकुटालाई राजधानीको मागको कारण भएको आन्दोलनले ढुवानी सेवाहरु पनि ठप्प रह्यो । धरानबाट पूर्वी पहाडको रुटमा दैनिक डेढ सयको संख्यामा सार्वजनिक यातायात सेवा सञ्चालन हुँदै आएको छ ।

धनकुटा लाई प्रदेशको राजधानी बनाउन मागगर्दै शुरु भएको आन्दोलन कुनै पार्टी विशेषले नभई समग्र धनकुटाबासीले गरेकाले बन्द यातायात खुलाउन कठिन हुने कुरा ट्याक्सी यातायात ब्याबसायी होम कटुवालले बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले धनकुटालाई प्रदेश १ को राजधानी वनाउनु पर्ने माग गर्दै सोमबार बिहानैदेखि धनकुटामा यातायात बन्द गरिएपछि धरान भएर पहाडी क्षेत्रमा जाने यातायातको सवारी साधानहरु बिहानैदेखि सन्चालन हुन नसकेको बताए ।

नेताहरुको अदुरदृष्टिका कारण राजधानी संविधानमै नतोकिदा अव छ महिना सम्म ठाउँ ठाउमा यातायात लगायत बिरोध र बन्द हुने सम्भावना बढेको अलपत्र परेको यात्रुहरुले बताए । संविधानमा प्रदेश सभाले राजधानी र प्रदेशको नाम तोक्ने उल्लेख छ । प्रदेश सभाको पहिलो बैठक कहाँ बस्ने भन्ने टुंगो समेत नलागेको अवस्थामा अहिलेको विवादकै विच बस्ने पहिलो बैठकमा राजधानी तोक्ने कुरामै तिब्र विवाद उत्पन्न हुने सम्भावना पनि उत्तिकै छ । धनकुटा उद्योग वाणिज्य संघको नेतृत्वमा सरकारलाई दबाव स्वरुप एक दिने यातायात बन्द गरिएको बताइएको छ ।

संघको अगुवाईमा शुरु भएको आन्दोलनको दोश्रो दिन यातायात चक्काजाम भएको हो । यसअघि आइतवार धनकुटा लाई प्रदेश १ को राजधानी धनकुटालाई कायम गरिनु पर्ने भन्दै स्थानीयबासीले पुर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका थिए । जुलुश सहित सयौको संख्यामा पुगेको समुहले कार्यालयको मुल गेटमा धर्ना दिएको हो । धर्नासँगै उनीहरुले क्षेत्रीय प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा गृहमन्त्री समक्ष जिल्लालाई राजधानी कायम गरिनु पर्ने व्यहोराको ज्ञापनपत्र बुझाए । उप क्षेत्रीय प्रशासक सेवन्तराज दाहाल समक्ष ज्ञापनपत्र बुझिलीएका थिए । आन्दोलन संघर्ष समिति संयोजक उमेश घिमिरे नेतृत्वको टोलीले उप–क्षेत्रीय प्रशासक दाहाललाई ज्ञापनपत्र हस्तान्तरण गरे ।

कार्यालयको हातामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो । विगत तीन दिनदेखि धनकुटामा राजधानी रहनु पर्ने माग गर्दै स्थानीयबासीले जिल्लामा प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्