काममा नफर्के कारवाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं, १८ । स्वास्थ्य मन्त्रालयले सम्पूर्ण चिकित्सकहरुलाई आन्दोलनको कार्यक्रमहरु बन्द गरि आफ्नो काममा फर्कन निर्देशन दिएको छ । अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै विरोधका कार्यक्रम गर्र्दै आएका डाक्टरहरूलाई विरोध कार्यक्रम बन्द गरी काममा नफर्के कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबारदेखि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको थियो । केसीसँगको सम्झौता लागू गरी उनको जीवनरक्षा गर्न माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन् ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सर्वसाधारण तथा सेवाग्राहीलाई मर्का परेको भन्दै मन्त्रालयले आन्दोलनरत सबै चिकित्सकहरुलाई काममा फर्केर आफ्नो ड्युटी पूरा गर्न विज्ञप्तिमा फार्फत निर्देशन दिएका हो ।

मन्त्रालयले आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्ने घोषणा फिर्ता नगरे डाक्टरहरूलाई अत्यावश्यक सेवा ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य सेवाजस्तो जनसरोकार र संवेदनशील मानवीय जीवनसँग सम्बन्धित प्रत्यक्ष सरोकार राख्ने सेवा अवरोध हुन नदिन आफू गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।

‘आफ्ना विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिई स्वास्थ्य संस्थाहरूमा सेवा यथावत् सञ्चालन गर्न मन्त्रालय पुनस् अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा आवश्यक सेवा सञ्चालन सम्बन्धी ऐन २०१४ बमोजिम कारबाही प्रकृया अघि बढाउन मन्त्रालय बाध्य हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ।’ जरी विज्ञप्तिमा भनिएको छ ।

आवश्यक सेवा दिने संस्थामा हडताल गर्नेलाई ६ महिनासम्म जेल सजाय गर्ने सकिने कानुनमा उल्लेख छ।

बिहीबार संघले विज्ञप्तिमार्फत् सांकेतिक आन्दोलन स्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।

अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले चासो नदेखाएको भन्दै संघले त्यसको घोर भत्र्सना गरेको छ । संघले वार्ता र संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न समेत सरकारलाई अपिल गरेको छ ।
अनसन स्थलमा पुगेर आजै पूर्व राष्ट्रपति डा. रामवरण यादवले अनसन तोड्न आग्रह गरेका छन् । यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले पनि डा केसीलाई भेटगरि अनसन तोड्न सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्