वामपन्थी डाक्टरहरुको आव्हान, चिकित्सक संघको आन्दोलनमा सहभागी नहुनुहोस

काठमाडौं, १८ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध चिकित्सक संगठनहरुले नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनमा सहभागी नहुन आह्वान गरेको छ । उक्त आन्दोलनको एजेण्डा राजनीतिक रहेकाले सहभागी नहुन आह्वान गरेको हो । तत्कालीन एमालेनिकट राष्ट्रिय चिकित्सक संघ नेपाल र तत्कालीन माओवादीनिकट नेपाल प्रगतिशील चिकित्सक संघले संयुक्त रुपमा विज्ञप्ति जारी गरी अस्पताल गरेको आन्दोलन औचित्यहीन रहेको बताएका हुन् ।
राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडेल र प्रगतिशीलका अध्यक्ष डा. माधव लम्सालले संयुक्त विज्ञप्ति जारी गरी नेपाल चिकित्सक संघका सीमित व्यक्तिले स्वघोषणा गरेको आन्दोलन कार्यक्रममा समर्थन जनाउन नसकिने जनाएका छन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, एकजना अभियन्ताको जीवन रक्षार्थ भनेर नेपाल चिकित्सक संघले आह्वान गरेको एजेण्डाविहीन आन्दोलन राजनीतिक उद्देश्यले प्रेरित छ । विरोधका अन्य उपाय रहँदा रहँदै पनि स्वास्थ्य सेवा जस्तो अति संवेनशील क्षेत्रमा हलुका ढंगले बन्द हड्ताल गर्ने अप्रिय निर्णयले आम जनता र चिकित्सकबीच दूरी बढ्ने निश्चित छ ।
दुवै संगठनले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको चिकित्सा शिक्षा विधेयकलाई स्वागत गर्दै यसले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गणस्तरीय तथा जनमुखी बनाउन नेपालको इतिहासमा कोशेढुंगा साबित हुने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्