देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेक अरु सबै सेवा बन्द

काठमाडौ, १८ माघ । डाक्टर गोविन्द केसीको अनशन तोडाउन सरकारबाट कुनै पहल नभएपछि सरकारको ध्यानाकर्षण गराउन शुक्रबार सरकारी तथा नीजि अस्पतालका आकस्मिक बाहेक अरु कुनै पनि कक्षमा काम नगर्ने घोषणा गर्दै डाक्टरहरुले शुक्रबार देशभरीका अस्पताल बन्द गर्ने भएका छन् ।

डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै डाक्टरहरुले देशभरीका अस्पतालमा काम नगर्ने भएका छन् । अनसन बसेको २४ दिन भैसक्दा पनि कुनै पनि पहल नभएकोले यस्तो गर्नुपरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्ति श्रेष्ठले जानकारी दिए ।

डा। केसीका बारेमा सरकार गम्भीर नभएपछि बाध्य भएर उपचार सेवा नै बहिष्कार गर्नुपरेको उनको भनाई छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनको माग गर्दै केसी अनशनमा बसे पनि दुवै सदनबाट बहुमतले यो विधेयक पारित भैसकेको छ ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले डाक्टर केसीलाई अनसन तत्काल तोड्न आह्वान गरेको छ । नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ऐन बन्ने प्रक्रियामा रहेकाले यो ऐन कार्यान्वयन गर्नको लागि अनसन तोडेर छलफलमा आउन पनि डाक्टर केसीसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्