धादिङमा ओडार भत्किएर पुरिएका गोठालाको शव भेटियो
काठमाडौ, १८ माघ । माघ १३ गते आइतबार बिहानदेखि ओडारभित्र हराइरहेका दुईजना गोठाला पाँच दिन पछि ढुंगाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् ।
धादिङको रुवीभ्याली गाउँपालिका वडा नंं ४ हिन्दुङमा लगातारको हिमपातपछि गोठाला गएको बेला सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूला ठूला चट्टान खसेर गएको पहिरोमा पुरिएर हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र त्यही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिन पछि उनीहरुको शव फेला पारेको सशस्त्र प्रहरी बल धादिङबेसी गुल्मप्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।
ओढार भित्र फसेका दुबैजना ठूलो ढुंगाले च्यापिएका थिए । खोजी कार्यमा प्रहरी निरीक्षक बस्नेतको नेत्तृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ३० सदस्यीय टोली जुटेको थियो । स्थानीयबासी र आफन्तहरुले पनि खोजी कार्यमा प्रहरीलाई साथ दिएका थिए ।
पहिरोमा पुरिएका २ सय ६० वटा भेडा बाख्रा मध्ये जम्मा ४ वटा भने जिवितै अवस्थामा भेटिएको उद्धार टोलीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्