प्रधानमन्त्री ओलीले आफैले गरेको बाचा तोडे, डा. केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा

काठमाडौं, माघ १७ ।  गत साउनमा डा।गोविन्द केसी १५ औं अनशनमा थिए। अनशन जति लम्बिँदै थियो, सरकार उति नै अप्ठेरोमा पर्दै थियो। त्यसपछि प्रधानमन्त्री केपी ओली आफैँले सहमतिको पहल गरे। रातारात बैठक बसियो।
सम्झौता भयो र केसीले २७ औं दिनमा अनशन तोडे। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
साउन १० गते सरकार र केसीबीच सहमति भएको थियो। डा। केसीलाई जुस खुवाएर अनशन तोडाएका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले उसबेला सहमतिप्रति प्रधानमन्त्री र सिंगो सरकार प्रतिबद्ध रहेको बताएका थिए।
तर प्रधानमन्त्री आफैँले आफ्नो वचन तोडेका छन्। सम्झौताविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।
राष्ट्रियसभामा पेस गरिएको विधेयकलाई यथास्थितिमा राखी माग सम्बोधन गर्न गरिएको आग्रहलाई लत्याइएको छ।
आफूमाथि धोका भएको बताउँदै केसी अनशनको २२ औं दिनमा छन्। उनको स्वास्थ्य बिग्रिँदै जाँदा केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीशहरू उत्रेका छन्। प्रधानमन्त्रीले नै माग पूरा गर्ने बाचा गरेकाले त्यो कार्यान्वयन हुनुपर्ने धारणा उनीहरूको छ।
डा। केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा
 चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा। गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा उत्रेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।
डा। केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि उनको अनशन लम्बिँदै गएको छ।
केसीको माग पूरा गर्न र जीवनरक्षाका लागि सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका चिकित्सक सडकमा उत्रेका हुन्।
डा। केसी आफ्नो १५औं अनशन क्रममा सरकारले गरेको सहमति कार्यान्वयन माग राखेर पुस २५ गतेदेखि अनशनमा छन्। उनी अनशन बसेको बुधबार २२ दिन पुगेको छ। लामो समयसम्म खाना नखाँदा केसीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको चिकित्सकले जनाएका छन्।
चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर केसी अनशन बसेको यो सोह्रौँपटक हो। अहिले उनी त्रिवि शिक्षण अस्पताल, काठमाडौंको गणेशमानसिंह भवनमा अनशनरत छन्।
प्रतिक्रिया दिनुहोस्