शीतलहरले तराईको जनजीवन कष्टकर, तातो र झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीको सुझाव
काठमाडौं । पाँच दिनदेखि निरन्तर रुपमा चलेको शीतलहरले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण चिसो अत्याधिक मात्रामा बढेपछि न्यानो कपडा र ओढ्ने ओछ्याउने नभएका विपन्न परिवारका मानिसको दैनिकी थप कष्टकर बनेको छ ।
भर्खरै सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य ठूलो रकम खर्चेर विजय र्यालीमा सहभागी भैरहँदा उनीहरुलाई मतदान गरेर विजयी गराउने सुकुम्बासी, दलित र विपन्न परिवार भने चिसोले कठ्याङ्ग्रिएर बसेका छन् । उनीहरु कहिँकत्तैबाट न्यानो कपडा पाइन्छ कि भन्ने आशमा बसिरहेका छन् ।
गएको शुक्रबारदेखि मौसम बदलीभई यसक्षेत्रमा चिसो बढेको हो । सर्लाहीमा मंगलबार पनि बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर चलिरहेको छ । चिसोबढेपछि बजारमा मानिसको चहल पहल घटेको छ भने स्थानीय वाषिन्दा चौक चौतारा, बाटोघाटोमा आगो तापेर बसिरहेका छन् ।
चिसोका कारण निजी तथा सरकारी स्वास्थ्य संस्थामा निमोनिया, रुघाखोकी जस्ता रोगका बिरामी बढेका छन् । यस्तो मौसममा तातो र झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन चिकित्सकको सुझाव छ । चिसो बढेपछि बजारमा न्यानो कपडाको व्यापार भने बढेको छ ।
प्रतिक्रिया दिनुहोस्