काठमाडौंमा लेन अनुशासन उल्लंघनकर्ता बढ्दै, ३२४ चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा सडक लेन अनुशासन उल्लंघनकर्तालाई ट्राफिक प्रहरीले कारवाही गर्दै आए पनि उल्लंघनकर्ताको संख्या घट्न सकेको छैन । दैनिकजसो ३ सयभन्दा बढी चालक लेन अनुशासन उल्लंघन गरेबापत कारवाहीमा पर्दै आएका छन् ।

सोमबार राजधानीमा लेन अनुशासन उल्लंघन गरेबापत ३२४ चालकलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । लेन अनुशासन उल्लंघनकर्तालाई जरिवानाका साथै सचेतना कक्षामा सहभागी गराइदैं आएको छ ।

सोमबार उपत्यकामा एक हजार ६२४ चालक कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेबापत कारवाहीमा परेका तीमध्ये मादक पदार्थ गरी सवारी चलाउने चालकको संख्या ६४ रहेको छ ।

महाशाखाका अनुसार सोमबार राजधानीमा १५ वटा दुर्घटना भए पनि मानवीय क्षति भएको छैन । ती दुर्घटनामा ९ जना सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्