सांसद दीपक मनाङे भारतीय गाडी चढेर प्रदेशसभामा प्रवेश

जागरण न्युज
पोखरा, १५ माघ । सोमबार सपथ लिएका सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङे मंगलबार गण्डकी प्रदेशसभामा आउँदा भारतीय नम्बर प्लेटको गाडी चढेर आएका थिए ।
सरकारी नम्बर प्लेटको र मन्त्रीको गाडीमात्र संसद कम्पाउन्डभित्रको पार्किङस्थलमा पुग्न पाउने व्यवस्था छ तर भारतीय नम्बर प्लेटको गाडी संसदमा किन आउन दिइयो भनेर सुरक्षार्थ खटिएका प्रहरीलाई सोध्दा, ‘माननीय नै चढेर आएको गाडी कसरी रोक्न सकिन्छ भन्ने जवाफ आयो । सांसद मनाङेको उक्त हर्कत देखेर सांसदहरु नै आश्चर्यमा पर्नुको साथै सबैको ध्यान उनी तिरै गयो ।
बीआर ०६ पिडी ९८२९ नम्बरको गाडीमा मनाङे संसद पुगेका थिए । उनी पुग्दा एक सांसदले भने संसदको कुनै मर्यादा हुन्छ कि हुँदैन । हुन्छ भने उनले अनुमति लिएका छन कि छैनन् हेनुपर्छ तर, मनाङे आफूले दैनिक शुल्क तिरेर भारतीय गाडी चढेकोमात्रै हैन सरकारी गाडी चढेको भएमात्र प्रश्न उठाउन आग्रह गरे ।
मनाङेले यस विषयमा पत्रकारलाई उल्टै भने ‘यस्ता फाल्तु कुरामा समय नफाल्नुस् । यो भाइहरुको गाडी हो । भाइ पनि होइन भाइको दिदीको, देशले भारतको सहयोग लिन मिल्ने मैले गाडी चढ्न पनि नपाउने ?’

भारतीय नम्बर प्लेटका गाडी नेपालमा चलाउँदा दैनिक ४ सय ५० रुपैयाँ राजस्व सरकारलाई बुझाउनु पर्ने नियम छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले यसबारेमा आफूले अध्ययन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्