नलसिंहगाड जलविद्युत आयोजनाको डिपिआरको काम प्रभावित

काठमाडौं । नलसिंहगाड जलविद्युत आयोजनाको डिपिआरको काम प्रभावित भएको छ ।भौगोलिक विकटताले अध्ययन गर्न आवश्यक उपकरण ढुवानीमा कठिनाइ हुँदा डिपिआरको काम प्रभावित भएको हो ।
जाजरकोटको दुर्गम ठाउँ लैखाममा निर्माण हुन थालेको यो जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन निर्माण गर्ने कामका लागि आवश्यक उपकरण ढुवानी गर्न कठिनाई भएपछि काम प्रभावित हुने भएको हो । यद्यपी आयोजनाको प्रवर्द्धक नलसिंहगाड हाइड्रोपावर कम्पनीले भने निर्धारित समयमा विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य सम्पन्न गरिने दाबी गरेको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह भण्डारीका अनुसार संघ र प्रदेशको चुनावअघि नै नेपाली सेनाको हेलिकोप्टरबाट बाँध र पावरहाउस निर्माणस्थलको अध्ययनका लागि प्रयोग गरिने उपकरण ढुवानी गर्ने योजना बनाइएको थियो तर सेनाको हेलिकोप्टर निर्वाचन आयोगको काममा प्रयोग गरिने भएकाले ढुवानी गर्न ढिलाइ भएको हो ।

आयोजनाको पावर हाउस निर्माण हुने लैखाम र बाँधस्थल वारेकोटसम्म अहिलेसम्म सडक मार्ग पुग्न सकेको छैन । आयोजनाले जाजरकोटको कालीमाटीबाट लैखमसम्मको ११ किलोमिटर सडक मार्ग निर्माण गरिरहेको छ ।

सन् २०१२ मा नेपाल विद्युत प्राधिकरणले गरेको सम्भाव्यता अध्ययनमा ४१० मेगावाट उत्पादन गर्नसकिने देखाएको छ । यसको विस्तृत इन्जिनियरिङ डिजाइन निर्माण गर्न नलसिंहगाड जलविद्युत आयोजना विकास समिति खडा गरिएको थियो । गएको वर्ष जेठ महिनामा यो आयोजनासहित बूढीगण्डकी जलविद्युत आयोजना विकास समिति खारेज गरी यो आयोजनालाई कम्पनी मोडलमा निर्माण अगाडि बढाउने सरकारले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्