रेडक्रसद्वारा अपाङ्गता भएकालाई सहयोग

काठमाडौ, माघ ६ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिहरुलाई रु ८ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पुर्याउन रेडक्रस सोसाइटीले व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सम्जुरका अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

रिस्तीका ३७ र सम्जुरका ४३ लाई जनही रु १०/१० हजारको दरले कूल रु ८ लाख सहयोग प्रदान गरिएको रेडक्रस सोसाइटी जिल्ला सभापति कृष्णहरि वाग्लेले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित ‘नेपालमा भूकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि सशक्तिकरण र समावेशीकरण कार्यक्रम’अन्तर्गत उनीहरुको जीविकोपार्जनका लागि सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको वाग्लेले बताए ।
रेडक्रस सोसाइटीले जिल्लाको व्यास नगरपालिकाको रिस्ती, भानु नगरपालिकाको सतिस्वाँरा, रिसिङ गाउँपालिकाको कोटदरबार र रानीपोखरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग प्रदान गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्