काठमाडौं, ४ माघ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१९’ आजबाट सुरु भएको छ । इपानले एक्स्पो एन्ड हाइड्रो इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिसँगको सहकार्यमा एक्स्पोको दोस्रो संस्करण आयोजना गरेको हो ।
राजधानीको भृकुटीमण्डपमा आज (शुक्रबार) बाट सुरु भएको एक्स्पोको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुुनले गरेका छन् । ऊर्जा क्षेत्रसँग सम्बन्धित सरोकारवालालाई एउटै स्थानमा भेला गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको इपानले जनाएको छ । इपानका अनुसार एक्स्पोमा ८५ भन्दा बढी जलविद्युत प्रवद्र्धकले सयभन्दा बढी स्टल प्रदर्शनीमा राखिनेछ । जलविद्युत प्रवद्र्धक, इक्युपमेन्ट सप्लायर (उपकरण आपूर्ति), लगानीकर्ता, बैंक तथा बिमा एवं जलविद्युत क्षेत्रमा रहेका नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित सरोकारवालाको सहभागीता रहनेछ । चीन, भारत, अष्ट्रिया, कोरिया, स्विडेन, जर्मनी, बुल्गेरिया, बेलायतलगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीको सहभागीता रहेको छ । प्रर्दशनीमा आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण, टनेलिङ उपकरण महत्त्वपूर्ण रहनेछ ।
एक्स्पोमा सहभागी भएर जलविद्युत आयोजनाको अवलोकन गर्न चाहानेलाई हेलिकोप्टरमार्फत दोर्दी कोरिडोर, माथिल्लो मर्स्याङ्दी, सोलु कोरिडोरलगायत स्थानमा निर्माणाधीन जलविद्युत आयोजनाको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । एक्स्पोले हाइड्रो टुरिजमको माध्यमबाट नेपाललाई विश्व बजारमा चिनाउन मद्दत पुग्ने इपानको विश्वास छ । ३ दिनसम्म चल्ने एक्स्पोमा दैनिक सेमिनार, अन्तरक्रिया जस्ता कार्यक्रम तथा स्वदेशी लगानी परिचालन, विदेशी मुद्रामा हुने कारोबारका जोखिम, नवीकरणीय ऊर्जा, वातावरणीय तथा सामाजिक व्यवस्थापन, जलविद्युत क्षेत्रका नयाँ आयाम विषयमा कार्यशाला गोष्ठी सञ्चालन गरिनेछ ।
यसैगरी, युवा पुस्तालाई लक्षित गरी जलविद्युतमा रुची भएकालाई प्रोत्साहित गर्न यससम्बन्धी विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम गरिने पनि इपानले जनाएको छ । सरकारले राखेको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न एक्स्पोले सहयोग गर्ने विश्वास छ । आइतबारसम्म चल्ने एक्स्पो १ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्