बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग
काठमाडौ, २९ पुष । बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग गरेका छन् । कालीगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम शुरु हुन ढिलाइ भएको छ ।
गत भदौमा आएको बाढीको कारण बेनी बजारस्थित कालीगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरी बजारलाई उच्च जोखिममा पारेको थियो । बेनी बजार संरक्षणको लागि सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागमार्फत रुपाताल एकीकृत विकास आयोजनाबाट कार्यान्वयन हुने गरी रु तीन करोड ५० लाख बजेट विनियोजन भएको छ । त्यस्तै पर्वत बेनी संरक्षणको लागि रु एक करोड ५० लाख बजेट विनियोजन भएको छ ।
जिल्ला सदरमुकामसमेत रहेको बेनी बजारलाई संरक्षण गर्न कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको तटबन्ध योजना कार्यान्वयनको बारेमा शनिबार बेनी नगरपालिकाले आयोजना गरेको छलफल एवं अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले हिउँद यामको समय बितिसक्दासमेत बजार संरक्षणको पूर्वाधार निर्माण शुरु नभएको भन्दै गुनासो गरेका थिए ।
सो छलफलमा सहभागी बेनी नगरपालिका र जलजला गाउँपालिकाका जनप्रतिनिधि, म्याग्दीका राजनीतिक दल एवं सरोकारवालाले कालीगण्डकी नदीको कटानबाट बजारलाई सुरक्षित राख्न दुवैतर्फ एकैपटक संरक्षणको काम शुरु गर्नुपर्ने सुझाव दिएका छन् ।














प्रतिक्रिया दिनुहोस्