खाजा कटौतीपछि विद्यालय जानै छाडे चेपाङ बालबालिका

काठमाडौं, पुस २३ । आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् ।
खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थिति दर बढेको थियो तर भदौदेखि सरकारले दिँदै आएको खाजा कार्यक्रम हटेपछि चेपाङ समुदायका विद्यार्थी विद्यालयमा नियमित हुन सकेका छैनन् ।
चेपाङ समुदायका बालबालिका मात्रै अध्ययन गर्दै आइरहेको राप्ती नगरपालिका–१३ कालीटारको आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठ खाजा कार्यक्रम हटेपछि विद्यार्थीलाई नियमित बनाउन धौँधौँ भइरहेको बताउँछन् । ‘पाँच महिनादेखि विद्यालयमा विद्यार्थी नियमित आउने दर कम छ’, उनले भने, ‘विद्यालय आउने विद्यार्थी पनि खाना नखाई न्याउरो मुख लगाएर आउने गरेका छन् ।’
चिसो बढी भएकाले र भौगोलिक विकटताका कारण पनि बालबालिका नियमित हुन नसकेको श्रेष्ठको भनाइ छ ।
चिसोमा लगाउने स्वीटरसमेत नहुँदा कतिपय बालबालिका नियमित हुन सकेका छैनन् । आधारभूत विद्यालयमा पैदल एक घण्टासम्म हिँडेर बालबालिका विद्यालय आउने गरेका छन् । १७२ चेपाङ बालबालिका अध्ययन गर्ने आधारभूत विद्यालयमा अहिले ४० देखि ५० जना मात्रै नियमित विद्यालय आउने गरेका छन् । वडा नम्बर १३ को ग्यामिराङ, थानडाँडा, खोलाधारी, कुमैटारलगायतका क्षेत्रबाट अध्ययनका लागि विद्यार्थी आधारभूत विद्यालयमा आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्