अब स्कूल–स्कूलमा पुग्न थाल्यो प्रहरी

काठमाडौं, पुस १९ । केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै एक हजार ४८० बलात्कारका घटना भएको देखिन्छ । साइबर अपराध, जबर्जस्ती करणी, लैङ्गिक हिंसा बहुविवाह, सम्बन्धबिच्छेद र घरेलु हिंसाका घटना पनि उत्तिकै मात्रामा हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
घटना न्यूनीकरणका लागि प्रहरी, स्थानीय सङ्घसंस्था, अधिकारकर्मीले सचेतनामूलक कार्य गर्दै आइरहेकाले यस्ता अपराध नियन्त्रणमा केही हदसम्म न्यूनीकरण भए पनि निर्मूल भने हुनसकेको छैन ।
कमजोर आर्थिक अवस्था भएका, शिक्षाबाट बञ्चित भएका तथा पारिवारिक दबाबमा परेका बालबालिका नै हिंसा र अपराधको सिकार बन्न पुगेको पाइन्छ । आफन्त र परिचितबाटै हिंसा हुने गरेका कारण यस्ता हिंसा न्यूनीकरणका लागि साँखुस्थित महानगरीय प्रहरी प्रभागले शङ्खरापुरका विद्यालयहरूमा लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
महिला र बालिकाका लागि मात्र नभएर बालक, युवा र बृद्ध–बृद्धालाई पनि कानूनी ज्ञान र सचेतना आवश्यक पर्ने भएकाले अपराध र हिंसाबाट बच्न र बचाउनका लागि स्कूल–स्कूलमा प्रहरी पुगेर यस्तो कक्षा सञ्चालन गरिएकोे प्रहरी निरीक्षक लक्ष्मी खनालले बताइन् ।
प्रतिक्रिया दिनुहोस्