‘कांग्रेसले धर्म बोकेर राजनीति गर्दैन ! पार्टीको कार्यसूची धर्म होईन र धर्म बोकेर राजनीति पनि गर्दैन’

काठमाडौं, पुस १६ । नेपाली कांग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ। पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीले स्पष्ट पारेको हो।
महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको अन्तरक्रियाकै क्रममा आइतबार पत्रकार एवम् बुद्धिजीवीसँग भएको भेटघाटमा पार्टीले दलित, जनजाति, मधेशी, महिला, अल्पसङ्ख्यक र सबै धर्म र विचारको संरक्षण गर्न चाहेको जनाएको हो।
सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी र पारदर्शी पार्टी भएको बताए। उनले एक फरक प्रसङ्गमा निर्मला पन्त हत्या प्रकरणमा कांग्रेस वा कम्युनिष्ट वा प्रहरी जो दोषी भए पनि छाड्न नहुनेमा जोड दिँदै पत्रकारले पनि दोषी खोज्न सहयोग गर्नुपर्ने भनाइ राखे।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुसँग समाजवादबारे बहस गर्न चाहेको चाहना व्यक्त गरे। ‘निमुखालाई न्याय र विपन्नलाई आय’ नै सच्चा समाजवाद हो र समाजवाद मिसिएको लोकतन्त्र नै सच्चा समाजवाद हो। हामी यसै सन्दर्भमा रहेर कम्युनिष्टहरुसँग समाजवादबारे बहस गर्न चाहन्छौं।’, पौडेलले भने।
पार्टीले राजनीतिलाई सिद्धान्तमा उभिने र सम्मानित बनाउन चाहेको पनि उनको भनाइ थियो।
महामन्त्री डा शशाङ्क कोइरालाले कम्युनिष्टहरुले आफूसँग जति छ त्यसलाई बराबरी वितरण गर्न चाहेको तर कांग्रेसले उत्पादन वृद्धि गरी बराबरी बाँड्न चाहेको जिकिर गरे। उनले दुई दलको समाजवादको परिभाषा यसरी नै फरक भएको विचार व्यक्त गरे।
पार्टी उपसभापति विमलेन्द्र निधीले आगामी दिनमा सदन र संसद्मा पार्टीको भूमिका बढाइने, प्रशिक्षण एवं सङ्गठन सुदृढ गरिने तथा निर्वाचन जित्न निरन्तर तयारी गरिने जानकारी दिए।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले पत्रिकाका स्तम्भकार, नागरिक समाज आदिसँग निरन्तर अन्तरक्रिया गरिरहेको र आगामी दिनमा पनि सुझावहरु लिइरहने बताए।
सो अवसरमा पत्रकार र बुद्धिजीवीले कांग्रेसलाई आफ्नै सिद्धान्त र धरातलमा उभिन, आफ्नो स्थिति स्पष्ट गर्न, कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद र प्रजातान्त्रिक समाजवादबारे भिन्नता छु्ट्याउन, धर्मबारे स्पष्ट विचार राख्न, सत्तामा आउने मार्गचित्र तयार गर्न, नयाँ मतदातालाई सन्देश दिन, राजनीतिक कार्यदिशा स्पष्ट गर्न, संसद् अवरुद्ध नगर्न, आफ्ना गल्तीको इमान्दारीपूर्वक समीक्षा गर्न, जनतासँग संवाद गर्न, सङ्घीयता र धर्मनिरपेक्षताबाट पछि नहट्न, मुलुकको समृद्धिको नेतृत्व गर्न तथा गैसस र अन्तर्राष्ट्रिय गैससबाट प्रभावित नहुन सुझाव दिएका थिए।
प्रतिक्रिया दिनुहोस्