अब मोबाइल एप्समार्फत प्रसूति सेवा

काठमाडौं, पुस १४ । मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ ।
कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो । उक्त गाउँपालिकाले एप्स निर्माण गरी पाँचवटै स्वास्थ्यचौकीमा एप्ससहितको मोबाइल वितरण पनि गरेको छ ।
वितरित मोबाइलमा रहेको एप्समा आफ्नो सेवा क्षेत्रमा रहेका गर्भवती र सुत्केरीबारे जानकारी विवरण स्वास्थ्यचौकीमा कार्यरत प्रसूति सेवा हेर्ने कर्मचारीले अद्यावधिक गर्नेछन् ।
अद्यावधिक गरिएको विवरणबमोजिम एप्सले समयावधिको आधारमा ‘नोटिफिकेशन’ पठाउने र सोहीबमोजिम स्वास्थ्यकर्मीले गर्भवती र सुत्केरीलाई आवश्यक परामर्श र स्याहारका लागि परामर्श दिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टङ्कबहादुर मोक्तानले बताए ।
‘स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवासुविधालाई प्रविधिसँग जोडेर सहज पार्न खोजेका छौँ’, अध्यक्ष मोक्तानले भने, ‘हामी बिकट र दुर्गममा पनि प्रविधिको उपयोग गरेर जनतालाई सजिलो पर्ने गरी सेवा दिन लागेका छौँ ।’
एप्सको प्रयोगबाट सुत्केरी र गर्भवतीको विवरण अद्यावधिक हुने र उनीहरुको स्याहार गर्न सजिलो हुने उनले जानकारी दिए ।
गाउँपालिकाले चालू आर्थिक वर्षदेखि एउटा स्वास्थ्य केन्द्रमा बालबालिका जन्म गराउने सङ्ख्या ३० भन्दा बढी भएमा प्रतिबालबालिका ५०० का दरले कर्मचारीलाई समेत प्रोत्साहन भत्ता दिने जनाएको छ ।
‘स्वास्थ्य संस्थामा बच्चा जन्माउनेको सङ्ख्या वृद्धि गर्नका लागि कर्मचारीलाई सक्रिय पार्न यस्तो निर्णय गरेका हौँ’, अध्यक्ष मोक्तानले भने । उनका अनुसार भार्ता, कालिकाटार, नामटार, गोगने र डाँडाखर्क गरी पाँच स्वास्थ्यचौकीमा बच्चा जन्माउने सङ्ख्यामा वृद्धि हुनेछ ।
पाँचै स्वास्थ्यचौकीमा प्रसूति सेवाका लागि गाउँपालिकाले गर्ने व्यवस्थामा कमी नआउने र सङ्ख्या वृद्धि गरेमा कर्मचारीलाई प्रोत्साहन गर्ने नीति गाउँपालिको रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्