भेरी बबई आयोजना: १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न, समयभन्दा अगावै सम्पन्न हुँदै

काठमाडौँ, पुस १४ । भेरी बबई डाइभर्सनको बहुउद्देश्यीय आयोजनाको १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखाएको यो भाग अनुमान गरेभन्दा कम र समयभन्दा अगावै सम्पन्न हुन लागेको दाबी गरिएको छ ।
भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर दुई सय मिटर सुरुङ खन्नुपर्ने हुन्छ । अहिलेका गतिमा काम भएमा आगामी चैत, वैशाखभित्र सुरुङको पूरा हुने दावी आयोजनाले गरेको छ ।
आयोजना प्रमुख सञ्जिव बरालका अनुसार आयोजनाको भौगर्भिक अध्ययनमा यो काम गर्न निकै जोखिम र चुनौती हुनसक्ने भनेर अनुमान गरिएको भागमा समेत सुरुङ खनेर पार गरी १० किलोमिटर सुरुङ खनिसकिएको छ ।
हालसम्मको कार्यप्रगति हेर्दा यो आयोजनामा सुरुङतर्फ लागत अनुमानभन्दा कम लागतमा र अनुमानित समय अगावै काम सम्पन्न गर्न सकिने उनको दाबी छ ।
गत वर्षको दशैँको फूलपातीको दिनबाट मगाइएको टनेल बोरिङ मेसिन ९टीबीएम० ले काम सुरु गरिएको थियो । काम सुरु भएको एक वर्ष दुई महिनामा १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ ।
सुरुङको पाँच किलोमिटरदेखि सात किलोमिटरसम्मको क्षेत्रलाई धेरै चुनौती र जोखिम देखिएको क्षेत्र भनेर आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा देखाइएको थियो ।
भौगर्भिक अध्ययनले देखाएको चुनौतीका क्षेत्र पार भएपछि अब खासै समस्या नआउँला भन्ने विश्वास छ । समस्या नदेखिएमा निर्धारित समयभित्रै सुरुङ पूरा हुने आयोजनाले जनाएको छ ।
नयाँ प्रविधिले औसतमा दैनिक २८ मिटरदेखि ४२ मिटर सम्म सुरुङ खनिएको आयोजना प्रमुख बरालको भनाइ छ ।
चिनिया निर्माण ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड सुरुङ खन्न काम गरिरहेको छ । त्यस वापत ठेकेदार कम्पनीले प्रतिदिन एकदेखि दुई करोड रुपियाँसम्मको भुक्तानी लिने गरी काम गरिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाले सन् २०२० को अप्रिल सम्ममा सुरुङ खनिसक्ने कार्ययोजना बनाएको थियो । आयोजनालाई सिँचाइ र जलविद्युत्सहितको बहुउद्देश्यीय बनाइएको छ ।
आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ हुनेछ भने ४८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सुरुङ निर्माण गर्नका लागि मात्र १० अर्ब ५६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्