भृकुटीमण्डपमा जुत्ता, चप्पलको औद्योगिक प्रदर्शनी, आर्थिक समृद्धितर्फ लैजान निर्यातमुखी अर्थतन्त्रतर्फ उन्मुख: मन्त्री यादव

काठमाडौँ, १३ पुस । काठमाडौंको भृकुटीमण्डपमा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन आफ नेपालको आयोजनामा ओजदेखि शुरु भएको प्रदर्शनीमा अवलोकनकर्ताहरुको आजैदेखि भिड लागेको छ ।
मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरेका हुन ।
सो कार्यक्रमका प्रमुख अतिथि रहको मन्त्री यादवले देशलाई आर्थिक समृद्धितर्फ लैजान सरकार निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ अघि बढेको बताउनु भएको छ ।

मन्त्री यादवले वर्तमान सरकारको मुख्य उद्देश्य नै देशलाई आर्थिकरुपमा मजबुत बनाउनेतर्फ रहेको स्पष्ट पार्दै देशमा गणतन्त्र आएसँगै निजी क्षेत्रलाई लगानी गर्ने वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

मेलाका संयोजक तथा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन आफ नेपालका महासचिव नवराज गौतमले अहिले वार्षिक तीन करोड जोर जुत्ता उत्पादन भइरहेकामा २०२० सम्ममा पाँच करोड उत्पादन गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो । चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपाली प्रयोगकर्ताको सोच विचारमा परिवर्तन नआएकाले पनि स्वदेशमा उत्पादन भएका सामग्री प्रयोगमा कमी आएको धारणा राख्नुभयो ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन आफ नेपालका अध्यक्ष कृष्ण कुमार फुयाँलले ५५देखि ६० प्रतिशत कच्चा पदार्थ विदेशबाट आयत गर्नु पर्ने भएकाले नेपाल छाला जन्य पदार्थको व्यवसाय चुनौतिपूर्ण भएका बताउनु भयो । यदि स्वदेशी कच्चापदाथै उत्पादन गर्न राज्यले पर्वद्धन गरेमा आर्थिक समृद्धि र वैदेशिक रोजगारीको समस्या पनि केहि हदसम्म कमी आउने प्रष्ट्याउनु भयो ।
कार्यक्रममा नेपाल चेम्बर आफ कमशैका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलला श्रेष्ठ लगायतले स्वदेशमा उत्पादित समानको प्रयोग गर्न राज्यले र सबै प्रयोगकर्ताहरुलाई आग्रह गर्नुभयो ।

‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’ को आयोजनामा यही पुस १९ गतेसम्म भृकुटीमण्डपमा सञ्चालनमा रहने मेलामा १४० कक्ष रहका छन् । मेलामा विशेषगरी छालाका जुत्ता, चप्पल, स्पोर्टस् जुत्ता, स्कूल र कलेजका जुत्ता तथा विभिन्न खानाका परिकारका कक्ष राखिएका छन् ।

मेलाको मुख्य उद्देश्य अर्थ सङ्कलन गर्नुभन्दा पनि स्वदेशमा उत्पादन भएका छालाजन्य वस्तुका बारेमा नागरिकलाई जानकारी गराउनु रहेको आयोजक संस्थाका अध्यक्ष कृष्णकुमार फुयाँलले जानकारी गराउनुभयो । ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ नाराका साथ सो मेलामा करीब दुई लाख व्यक्तिले अवलोकन गर्ने बताइएको छ । मेलामा राखिएका जुनसुकै सामग्री खरीद गर्दा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्