यस वर्ष एकै पटक २५ हजारभन्दा बढी शिक्षक स्थायी हुँदै

काठमाडौं, पुस ११ । यस वर्ष एकै पटक २५ हजारभन्दा बढी शिक्षक स्थायी हुने भएका छन् । शिक्षक सेवा आयोगले भर्खरै लिएको खुल्ला तथा आन्तरिक शिक्षक परीक्षाबाट यो संख्यामा स्थायी सेवामा प्रवेश गर्ने भएका हुन् ।
आयोगका सूचना अधिकारी रामराज खुकरेलले यो वर्ष २५ हजारभन्दा बढी शिक्षक स्थायी हुने जानकारी दिए । अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा अन्तिम चरणमा रहेको र अन्तर्वार्ताको मिति तोकिसकिएको उनले बताए । खुल्लाको नतिजा पनि चाँडै आउने बताउँदै उनले दुवै विज्ञापनबाट २५ हजार शिक्षक स्थायी हुने जानकारी दिए ।
स्थायी दरबन्दीमा भर्खरैमात्र खुल्लाको १२ हजार ७३७ पदको लागि विज्ञापन गरेर जाँच लिइसकेको उनले बताए । खुल्लाका लागि प्रावि तहमा ९ हजार ९९६, निमावि तहका लागि १ हजार ६३३ र मावि तहका लागि १ हजार १०८ पदको लागि विज्ञापन भएको उनले जानकारी दिए ।
अस्थायी शिक्षक परीक्षाका लागि मावि तहका १६ हजार १९९ शिक्षकले आवेदन दिएका थिए भने निमावि तहका लागि ३ हजार ७६४ र मावि तहका लागि ३ हजार ३३२ ले आवेदन दिएका थिए । १२ हजार ५७३ जनाको कोटामा २३ हजार २८९ जनाले जाँच दिएको आयोगले जनाएको छ ।
आयोगका सूचना अधिकारी खकुरेलका अनुसार १२ हजार ७३७ खुल्ला विज्ञापनको नतिजा आएपछि खुल्लाबाट आएका शिक्षकहरु स्थायी भएर जान्छन् भने अस्थायी शिक्षकको आन्तरिकमा कोटातर्फको १२ हजार ५७३ गरेर २५ हजार ३१० जना शिक्षक स्थायी हुनेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार भने अहिले थप २३ हजार शिक्षक आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्