काठमाडौं, पुस ५ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न आज काठमाडौंमा राष्ट्रिय शिक्षा सम्मेलन हुँदैछ। बुढानीलकण्ठ स्कूलमा हुने सम्मेलनको उ्दघाटन प्रधानमन्त्री केपी शर्मा वलीले गर्ने तयारी छ।
सम्मेलनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत प्रमुख राजीतिक दलका शीर्ष नेता, शिक्षाविद्, शिक्षक, विद्यार्थी र शिक्षासँग सरोकार राख्नेहरुको सहभागिता रहने शिक्षा मन्त्रालय श्रोतले जनाएको छ। सम्मेलन भोली (शुक्रबार) सम्म चल्ने छ।
नेपालको संविधान र नयाँ संघीय संरचना अनुकुल समग्र शिक्षा प्रणालीलाई गुणस्तरीय, प्रतिस्पर्धी, जीवनोपयोगी, सुसंस्कृत र आधुनिक तथा प्रविधिमैत्री बनाउने उद्देश्यले आयोग गठन गरिएको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा शिक्षाविद्, भाषाविद् र विज्ञहरुको सहभागिता छ। सोही आयोगले तयार पारेको प्रतिवेदनमाथि आजको सम्मेलनमा छलफल हुन लागेको हो।
सो आयोगले देशका सातैवटै प्रदेशमासमेत छलफल तथा अन्तक्रियाया गरेर प्रतिवेदनको पहिलो मस्यौदा तयार गरेको छ।
नीजि विद्यालय व्यवस्थापन, भाषा, संस्कृति, पाठ्यक्रम लगायतका विषयमा प्रमुख दलका शीर्ष नेताहरुको सुझाब र प्रतिवद्धताको लागि सम्मेलन गर्न लागिएको शिक्षामन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए।
‘प्रतिवेदनलाई आजको राष्ट्रिय शिक्षा सम्मेलननले अन्तिम रुप दिनेछ,’ खड्काले भने।
आयोगले शिक्षाको २५ वर्षे रणनीति बनाएको छ। आयोगको समयावधि गएको मंसिर १६ गते सकिएपछि सरकारले पुनः ३७ दिन म्याद थप गरेको छ।
प्रतिक्रिया दिनुहोस्