काठमाडौं , पुस ४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) अन्तर्गत अबुधावीका स्थानीय शिक्षामन्त्री डा। अलि रसिद अल नुवामीले भेट गरेका छन् ।
उनीहरुबीच मंगलबार शिक्षा मन्त्रालयमा भएको भेटमा मन्त्री पोखरेलले विज्ञान प्रविधि र शिक्षाको विकासका लागि सहकार्य र सहयोग गर्न आग्रह गरेको उनका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिए।
यूएईको विकासका लागि नेपाली जनशक्तिले सहयोग गरेको स्मरण गर्दै उनले यूएईमा रहेका विश्वस्तरका विश्व विद्यालयबाट नेपाली विद्यार्थी पनि लाभान्वित हुने बताए । दुई देशबीचको सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा सहयोग गर्न यूईए सरकारसँग अनुरोध गरे ।
भेटमा यूएईका शिक्षामन्त्री डा. नुवामीले नेपालमा रहेका सबैं मदरसा विद्यालयलाई सुधार गरेर आधुनिक बनाउने अभियानमा सहकार्य गर्ने बताए ।
उनलेसबैं मदरसा विद्यालय प्रविधिमैत्री र आधुनिक बनाउने अभियानअन्र्तगत नेपालमा रहेका मदरसा विद्यालय पनि नयाँ ढङ्गले सञ्चालन हुनेगरी आधुनिक र व्यवस्थित विद्यालय बनाउन नेपाल सरकारसँग सहकार्यको अपेक्षा राखिएको बताए ।
शिक्षामन्त्री डा. नुवामीले विश्वशान्ति, विश्व भाइचाराका लागि यूएईले अन्तर्राष्ट्रिय अभियान चलाएको बताउँदैं नेपाल पनि विविधतापूर्ण भएकाले यो अभियानमा सहभागी हुन आग्रह गरे ।
उनले नेपाल सरकारलाई विज्ञान र प्रविधिको क्षेत्रमा सहयोग गर्न यूएई सरकार तयार रहेकोसमेत बताए।
प्रतिक्रिया दिनुहोस्