कक्षा–४ सम्मको पाठ्यपुस्तक निजी प्रेसलाई छाप्न दिने निर्णय

काठमाडौं, पुस ३ । शिक्षा मन्त्रालयले आउँदो शैक्षिकसत्रका लागि कक्षा–१ देखि कक्षा–४ सम्मको पुस्तक निजी प्रेसलाई छाप्न दिने निर्णय गरेको छ ।
गत वर्ष कक्षा–५ सम्मको पाठ्यपुस्तक निजी प्रेसलाई छाप्न दिएको मन्त्रालयले आउँदो वर्षदेखि भने कक्षा–४ सम्मकोमात्र पाठ्यपुस्तक छाप्न दिने निर्णय गरेको हो ।
निजी प्रेसले नेपाली, अंग्रेजी, विज्ञान, स्वास्थ्य तथा शारीरिक र सामाजिक गरी ५ विषयका पाठ्यपुस्तकमात्र छाप्न पाउनेछन् ।
पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका महानिर्देशक लेखनाथ पौडेलले मन्त्रालयको निर्णयअनुसार निजी प्रेसलाई सूची दर्ता गराउन सूचना जारी गरिएको र यसका लागि १५ दिनको समय दिइएको जानकारी दिए ।
जनकशिक्षा सामग्री केन्द्रले वर्षेनि पाठ्यपुस्तक छाप्ने गरेकामा समयमा पाठ्यपुस्तक नपुगेका कारण सरकारले निजी प्रेसलाई पनि पाठ्यपुस्तक छाप्न दिने निर्णय गरेको महानिर्देशक पौडेलले बताए ।
फागुन १ गतेदेखि पठनपाठन हुने विद्यालयमा माघ १५ गतेसम्म र वैशाखदेखि पढाइ सुरु हुने विद्यालयमा चैत १५ गतेसम्म पाठ्यपुस्तक पुगिसक्नु पर्ने प्रावधान छ ।
तर, सरकारले निजी प्रेसलाई छाप्न दिने निर्णय बल्ल गरेका कारण समयमा पुस्तक पुर्‍याउन आगामी वर्ष पनि चुनौती देखिएको छ ।
उता, जनकशिक्षा सामाग्री केन्द्रका प्रमुख महेश तिमल्सिनाले भने केन्द्रसँग ७ करोड पाठ्यपुस्तक छाप्ने क्षमता रहेपनि सरकारले किन निजी क्षेत्रलाई छाप्न दिएको हो ? भन्ने थाहा नभएको बताए ।
कक्षा–५ देखि १२ सम्मको पाठ्यपुस्तक भने जनकशिक्षा सामग्री केन्द्रले नै छाप्नेछ ।
प्रतिक्रिया दिनुहोस्