माथिल्लो तामाकोशीको शेयर : झण्डै ५६ हजार दोलखालीले फिर्ता रकम पाउँदै

काठमाडौं , पुस १ । शेयर बाँडफाँडपछि बढी भएको रकम अहिलेसम्म फिर्ता नपाएका दोलखावासीले आइतबारदेखि पैसा फिर्ता पाएका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर खरिदका लागि स्थानीयवासीको बढी भएको रकम प्रत्येक बैङ्कबाट आइतबारदेखि वितरण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ ।
सह–निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा पाएको सनराइज क्यापिटल लिमिटेडले विभिन्न कारणले फिर्ता रकम नपाएका झण्डै ५६ हजार दोलखालीको नाममा जिल्लाका सम्पूर्ण बैङ्कमा चेक पठाएको हो ।
उक्त चेक शुक्रबार नै सबै बैंकमा पठाइएकोले आइतबारदेखि रकम वितरण सुरु भएको छ । आफ्नो बैंक खातामा अहिलेसम्म पनि फिर्ता रकम नआएको भए दोलखावासीले यसअघि शेयर फारम बुझाएको बैंकमा पुगी रकम लिन सक्ने आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।
पैसा फिर्ता लिन शेयर आवेदन फारमको अर्धकट्टी लिई यसअघि फारम बुझाएको बैंकमा जानुपर्नेछ । शेयर बाँडफाँड भएको डेढ महिनासम्म ५६ हजार दोलखावासीले बाँकी रकम फिर्ता पाएका थिएनन् ।
खाता नम्बर नमिलेको, केवाइसी अपडेट नभएको, नाम नमिलेकोलगायतका कारण लगानीकर्ताले पैसा फिर्ता पाएका थिएनन् । दोलखावासीको शेयर कात्तिक १४ गते बाँडफाँड गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्