काठमाडौं, २८ मंसिर । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको कार्यकाल समाप्त भएपछि खुला प्रतिष्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतको नियुक्त गर्ने भएपछि सो पदका लागि १७ जनाको आवेदन परेको छ ।
प्रमुख कार्यकारी अधिकृत छनौट समितिले पहिलो चरणको प्रारम्भिक छनौट प्रकृया सुरु गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको कार्यकाल मंसिर २७ गते बिहीबारदेखि सकिएको छ । शुक्रबारदेखि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतमा को छनौट हुन्छ भन्ने प्रतिष्पर्धा सुरु भएको छ ।
१७ जना आवेदक मध्ये १० जना कृषि विकास बैंकमा आबद्ध तथा पूर्व कर्मचारी छन् भने ७ जना अन्य संस्थाहरुमा आबद्ध रहेको बुझिएको छ ।
कृषि विकास बैंकको उपमहाप्रबन्धक पदमा कार्यरत प्रताप सुवेदी प्रमुख कार्यकारी अधिकृत पदका पहिलो उम्मेदवार हुन् ।
कृषि विकास बैंककै पुर्व उपमहाप्रबन्धक शेषरमण आचार्य पनि प्रमुख कार्यकारी अधिकृतको दौडमा छन् ।
प्रमुख कार्यकारी अधिकृतको तेस्रो उम्मेदवार बैंककै पुर्व उपमहाप्रबन्धक अनिल उपाध्याय छन् । उनी नेकपाका नेता माधवकुमार नेपालका नातेदार हुन् ।
बैंकका पूर्व विभागीय प्रमुुख ताराखर अधिकारी प्रमुख कार्यकारी अधिकृतका चौथो उम्मेदवार हुन् । उनी तत्कालिन नेकपा एमालेको भातृ संगठनमा सक्रिय हुँदै गर्दा कृषि विकास बैंकमा आबद्ध भएका थिए ।
बैंकका बहालवाला उपमहाप्रबन्धक अरुणकुमार ढुुंगाना प्रमुख कार्यकारी अधिकृतका पाँचौं प्रतिष्पर्धी हुन् ।
बैंकका पुर्व विभागीय प्रमुख शिव अधिकारी प्रमुख कार्यकारी अधिकृतको दौडमा छौठौं नम्बरका प्रतिष्पर्धी हुन् । उनले यस अघि पनि २ पटक प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन गरिसकेका छन् ।
पुर्व राजा ज्ञानेन्द्र शाहले तत्कालिन अवस्थामा प्रधानमन्त्री पदका लागि आवेदन माग्दा अधिकारीले पनि आवेदन दिएका थिए ।
प्रमुख कार्यकारी पदका सातौं उम्मेदवार बैंकका बहालवाला उपमहाप्रबन्धक पूर्ण प्रसाद आचार्य हुन् । उनी नेकपाका नेता झलनाथ खनालका भान्जा पर्छन् ।
बैंकका पूर्व उपमहाप्रबन्धक नरेशकुमार रोक्का प्रमुख कार्यकारी पदका आठौं प्रतिष्पर्धी हुन् ।
प्रमुख कार्यकारी अधिकृत पदका नवौं उम्मेदवार कृषि विकास बैंकमा शाखा अधिकृतका रुपमा १० वर्ष सेवा गरेका युवराज गुरागाई हुन् । उनी हाल सिभिल बैंकमा कार्यरत छन् । उनी झापाका हुन् ।
कृषि विकास बैंक भित्रबाट नै प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिने दशौं उम्मेदवार प्रमोदबाबु तिवारी हुन् । उनी हाल कृषि विकास बैंकको तालिम केन्द्र बोडे, भक्तपुरमा कायम मुकायम विभागिय प्रमुखका रुपमा कार्यरत छन् ।
उल्लेखित १० जना बाहेकका ७ जना आवेदकहरु कृषि विकास बैंकमा विगत तथा वर्तमानमा आबद्ध छैनन् । उनीहरुको सूची यस्तो छ ।
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदका ११ औं नम्बरका आकाँक्षी कपिलमणि ज्ञवाली हुन् । उनी यस अघि राष्टिय« वाणिज्य बैंकमा उपमहाप्रबन्धक भैसकेका छन् । केही समय अघि नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृत पदको शिर्ष तीन उम्मेदवारमा ज्ञवाली छनौट भएर प्रमुख कार्यकारी हुन सकेका थिएनन् ।
१२ नम्बरका प्रतिष्पर्धी गोविन्द घिमिरे हाल एनएमबि बैंकमा कार्यरत छन् । घिमिरे एनएमबिमा व्यापार महाशाखा प्रमुखको रुपमा कार्यरत छन् ।
१३ नम्बरका प्रतिष्पर्धी शंकर रायमाझी राष्ट्रि वाणिज्य बैंकका पुर्वकर्मचारी हुन् । उनी वाणिज्य बैंकमा रहँदा कर्मचारी संगठनमा सक्रिय थिए ।
१४ औं नम्बरका प्रतिष्पर्धी डा. शिवहरी श्रेष्ठ भर्खरै साधारण शेयर निष्काशन गरेको सामुदायिक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत हुन् । यस अघि श्रेष्ठले बीमा संस्थान तथा खाद्य संस्थानको नेतृत्व सम्हालिसकेका छन् । उनी एनआईडिसी डेभलपमेण्ट बैंकका पुर्व कर्मचारी समेत हुन् ।
१५ औं नम्बरका प्रतिष्पर्धी डा. झमकप्रसाद शर्मा पुर्व निजामति कर्मचारी हुन् ।
१६ औं नम्बरमा बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि बिमल डाँगीले आवेदन दिएका छन् ।
१७ औं नम्बरमा रामदेव यादवले प्रमुख कार्यकारी अधिकृत पदका लागि उम्मेदवारी दिएका छन् । यादव यस अघि नेपाल ग्रामिण विकास बैंकमा आबद्ध थिए ।
बैंकको प्रमुख कार्यकारी अधिकृत छनौट प्रकृयालाई स्वतन्त्र बनाइने भन्दै आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति गठन गरिएको छ । समितिमा बैंकका सञ्चालक घनाश्याम अवस्थी तथा विज्ञ गेहनाथ गौतम सदस्य छन् ।
केही दिनमा छनौट समितिले ५ उम्मेदवारको प्रारम्कि सूची तयार गरी बैंक सञ्चालक समितिमा बुझाउने कार्यतालिका छ । त्यस पछि समितिले नै ३ जनालाई छनौट गरि बैंक सञ्चालक समितिमा बुझाउने बताइएको छ । समितिले छनौट गरेका ३ जनाबाट सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत छनौट गर्नेछ ।
नयाँ प्रमुुख कार्यकारी अधिकृत छनौटका लागि बैंकले सार्वजनिक सूचनामार्फत मंसिर ९ देखि २३ गतेसम्म आवेदन माग गरेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला खुल्ला प्रतिष्पर्धाबाट २०७१ साल मंसिर २८ गते कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पएका सिटौला कृषि विकास बैंकको प्रमुख कार्यकारीको ४ वर्षे कार्यकाल सकिनुभन्दा २ साता पहिलेदेखि नै विदा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्