१८० पटक उठबस गराउँदा विद्यार्थी कक्षा कोठामै बेहोस

काठमाडौँ,मंसिर १९ ।  ललितपुर, प्युटारस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएनन् । मंगलबार आए तर असहज मान्दै । कारण खोतल्दा थाहा भयो– गणित शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलाई १८० पटक उठबस गर्न लगाएछन् ।
१५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए । यो थाहा पाएलगत्तै प्रधानाध्यापक ठाकुर लामा दौडँदै पुगे । कसैले दर्शनलाई हम्किन थाले, कसैले पानी छम्किए । झन्डै आधा घण्टापछि उनको होस फिर्‍यो । हाफ छुट्टीमा दर्शनलाई नजिकैको स्वास्थ्यचौकी लगियो ।
विद्यालयले घटना गुपचुप राख्न खोज्यो । अभिभावकलाई जानकारी नै गराएन । होमवर्क नगरेकामा सजाय पाएकाले दर्शनले घरमा पनि केही भन्ने आँट गरेनन् । बाबु टुकनाथले भोलिपल्ट छोराको साथीबाट यसबारे थाहा पाएका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा  छ।
टुकनाथका अनुसार घरमा बिहे भएकाले छोरा दुई दिन बिदा बसेर १३ गते विद्यालय गएका थिए । त्यसैले उनलाई गृहकार्यबारे थाहा थिएन । तर शिक्षक शाहले गृहकार्य खोइ भन्दै कान समातेर उठबस गर्न लगाए । टुकनाथले भने, ‘१५० पटक गरेपछि बेहोस भएको उसका साथीले बताए ।’ दर्शनका सहपाठीका अनुसार उनी कालोनीलो भई ढलेका थिए ।
विद्यालयले घटना सामान्य भएको दाबी गरेको छ । ‘कमजोर विद्यार्थी थिए । उठाउँदा ढलेछन् । कुरा बुझ्नुस न त्यही हो कुरा,’ प्रधानाध्यापक लामाले भने । उनले विद्यार्थीलाई उठबस नगराइएको, सामान्य रूपमा उभ्याउँदा नै बेहोस भएको दाबी गरे । विद्यालय रहेको वाग्मती गाउँपालिका–४ का वडाध्यक्ष नारायण घलेले उक्त घटनाबारे शिक्षक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसँग जानकारी मागिएको बताए ।
उनका अनुसार शिक्षक शाहले सजाय दिनु गल्ती भएको स्विकार्दै सुध्रिन तयार रहेको बताएका छन् । ‘शिक्षक सम्बद्ध परिवारसँग माफी माग्न र विद्यार्थीको उपचार खर्च बेहोर्न तयार छन्,’ उनले भने, ‘आइन्दा यस्तो काम दोहोरिनु हुँदैन ।’ घटनापछि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र अभिभावकले सर्वपक्षीय सहमति गरेका छन् । टुकनाथका अनुसार सोमबार मात्रै विद्यालयमा सबै पक्ष बसेर सहमतिको कागज गरिएको हो ।
उपचारमा लागेको ५ हजार खर्च शिक्षकले बेहोर्ने, आगामी दिनमा शिक्षकले सजाय नदिने र अभिभावकले विद्यार्थीलाई नियमित विद्यालय पठाउने गरी सहमतिको कागज भएको प्रधानाध्यापक लामाले बताए ।
प्रतिक्रिया दिनुहोस्