प्रदेश २ मा कुपोषणको अवस्था भयावह

काठमाडौं, मंसिर १७ । प्रदेश २ मा कुपोषणको अवस्था भयावह रहेको पाइएको छ । प्रदेश २ मा कुपोषणको अवस्था भयावह रहेको पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल(सिसान) को एक तथ्यांकले देखाएको हो । सिसानको तथ्यांक अनुसार देशको ७ वटै प्रदेशभन्दा प्रदेश २ को अवस्था भयाभह रहेको छ ।
प्रदेश २ का बालबालिकामा ३७ प्रतिशतमा पुड्कोपन, १४।४ प्रतिशतमा ख्याउटेपन, ३६.८ प्रतिशत बालबालिकामा कमतौल, ५९.४ मा रक्तअल्पता रहेको छ जसमध्ये महिलामा ५७.८ प्रतिशत रहेको जनाइएको छ ।
अन्य प्रदेशको तुलनामा सही पोषणको कमीले प्रदेश २ को पोषण स्थिति भयावह हुन पुगेको बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक हेमन्त झाले बताए ।
प्रदेश २ मा सबै कुरा सजिलै उपलब्ध गर्न सक्ने वातावरण रहेपनि जनचेतनाको अभावले बालबालिका कुपोषणको शिकार भएको उनले बताए ।
नेपाल जनसांख्यकीय सर्वेक्षण २०१६ अनुसार ५ वर्ष मूनिका ३६ प्रतिशत बालबालिका दीर्घ कुपोषण तथा पुड्कोपनबाट प्रभावित भएका छन् ।
१० प्रतिशतमा ख्याउटेपन र २७ प्रतिशत कम तौलको कारणले पीडित भइरहेका छन् । यस्तै, ६ महिनादेखि ५ वर्ष मूनिका ५३ प्रतिशत बालबालिकामा रक्तअल्पता रहेको पाइएको छ ।
धनुषा जिल्लाका १८ वटा स्थानीय तहहरूमध्ये हालसम्ममा जनकपुरधाम उप९महानगरपालिका, धनौजी गाउँपालिका, नगराइन नगरपालिका, मिथिला बिहारी नगरपालिका र औरही गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना लागूसमेत हुन नसकेको संयोजक झाले जनाए ।
एउटा कुपोषित बच्चाले युवा भएर कुपोषित बच्चा नै जन्माउने र यसले समस्या अझै बल्झिने भएकोले समयमै समस्या समाधानका लागि खानपानमा उचित ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।
जनकपुरमा एक कार्यक्रम आयोजना गरेका सिसानले प्रदेश २ का आठ जिल्लामध्ये सिरहावाहेक सबै जिल्लामा बहुक्षेत्रीय पोषण योजना लागू गरिएको समेत जनाएको छ।
प्रतिक्रिया दिनुहोस्