अहिलेकै अवस्थामा पनि २५ लाख पर्यटक धान्न सकिन्छ, ब्यवसायी
काठमाडौ, ८ मङ्सिर । सन् २०१७ मा दस लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे भने सन् २०१८ को जनवरीदेखि अक्टोबर महीनासम्ममा पर्यटकहरुको आगमन उत्साहजनकनै देखिन्छ । अक्टोबरसम्म ८ लाख ८२ हजार ५३१ पर्यटकहरु नेपाल घुम्न आएका अध्यागमन विभागको विवरणमा देखिन्छ ।
उक्त विवरण केही तलमाथि हुनसक्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले एक/दुई दिनभित्रै आधिकारिक तथ्याङ्क ल्याइने जनाएको छ । पर्यटक आगमनको अनुपात हेर्दा स्वभावले सन् २०१८ मा पर्यटकको सङ्ख्या वृद्धि हुने देखिन्छ ।
नेपाल भ्रमण वर्ष २०२० को रुपमा मनाएर सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तरपनि यसमा प्रवर्दनात्मक गतिविधिले तीव्रता पाउन सकेको छैन् ।
पर्यटकीय पूर्वाधार निर्माणले गति लिएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अघि बढेको छ । हाल २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको इतिहासमै पहिलो पटक धावनमार्ग कालोपत्रे ‘रनवे रिह्याब’ को काम अघि बढाइएको छ । विमानस्थलको उत्तरपूर्व र दक्षिण–पश्चिम क्षेत्रमा १० वटा साना ठूला जहाज अट्ने दुई नयाँ पार्किङ–वे निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ ।
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको केही महीनामै सञ्चालनयोग्य हुने आयोजना निर्माणमा संलग्न अधिकारीले बताएका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले हालै भित्र्याएको नयाँ दुई वाइड बडी विमानले अन्तर्राष्ट्रिय गन्तव्य विस्तारसँगै व्यावसायिक योजनाका साथ अघि बढेको छ । सन् २०१९ सम्म निर्माणाधिन अधिकांश होटल बनिसक्ने छन् । हालको पर्यटकीय पूर्वाधारबार्टै २५ लाख पर्यटकलाई सेवा दिन सकिने उनिहरुको विश्वास छ ।
पर्यटन प्रवद्र्धनात्मक गतिविधि केही सुस्त देखिए पनि २० लाख पर्यटक भित्र्याउन गाह्रो नहुने होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यले बताएका छन् । अहिले नै २५ लाख पर्यटकलाई धान्न सक्छौ तर २० लाखको लक्ष्यले मात्रै पुग्दैन पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ, उनले भने यसको लागि सरकार र निजी क्षेत्रले सक्रियता बढाउनुपर्छ ।”
अहिले होटलको ‘वेड’ सङ्ख्या ३७ हजार छ । सन् २०२० सम्म पाँच देखि छ हजार बेड सङ्ख्या थपिने अध्यक्ष शाक्यको भनाइ छ । अहिलेको अवस्थामा एउटा पाँच तारे होटल खोल्न कम्तीमा १० अर्ब लगानी आवश्यक पर्ने हानले जनाएको छ । काठमाडौँ उपत्यका र बाहिर गरी १० वटा पाँच तारे होटल निर्माण भइरहेका छन् ।
नेपाल भ्रमण वर्षलाई प्रभावकारी रुपमा सञ्चालन गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहितका कार्यक्रमको सञ्चालन संयोजन गर्न नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्यलाई कार्यक्रम कार्यान्वयन उपसमितिको संयोजकको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियुक्त गरिसकेको छ ।
कार्यक्रमको सुव्यवस्थित सञ्चालनका लागि नेपाल पर्यटन बोर्डमा सचिवालय स्थापना गरी कार्यक्रम अघि बढाइएको छ । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन उपसमितिको अध्यक्ष समेत रहनुभएका पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढेको बताए ।
जम्मा १२ सदस्यीय उक्त उपसमितिमा ६ जना सदस्य सरकारीस्तरबाट र ६ जना निजी क्षेत्रबाट रहनेगरी व्यवस्था गरिएको छ । सरकारले चालु आवको बजेटबाट भ्रमण वर्षका लागि रु १० करोड बजेट विनियोजना गरेको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षलाई सफल बनाउन प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्