काठमाडौ,७-मंसिर । आजबाट नारायणहिटी दरबार संग्राहलयमा सर्वसाधाराणका लागि थप १० वटा कक्षहरु खुला भएका छन् ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीले नारायणहिटी दरबारका खुल्न बाँकी १० वटा कक्ष सर्वसाधारणका लागि औपचारिक रुपमा खुला गरे । जसमा सिन्धुली, सुनसरी, सप्तरी, झापा, इलाम, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अंगरक्षकको कक्ष खुला भएको छ । सिन्धुली कक्षः यो कक्षमा रानीले श्रृङ्गार गर्ने तथा दिउसोको खानापछि आराम गर्ने गर्थिन् । सुनसरी कक्षः जनैपूणिर्माका दिन तत्कालीन राजपरिवारका सदस्यहरुले राजपुरोहितबाट रक्ष बन्धन, जनै फेर्ने लगायतका धार्मिक कार्य गर्न यो कक्ष प्रयोग हुन्थ्यो त्यस्तै रात्री भोजका लागि तयार हुने खाना राख्ने पनि यही कक्षमा गरिन्थ्यो ।
सप्तरी कक्षः यो भोजन ग्रहण गर्ने कक्ष थियो । पूर्व मुमाबडामहारानी तथा तत्कालीन युवराजको जन्मोत्सवको अवसरमा धनुषा बैठकमा आयोजना हुने पाहुनाहरुको भोजन गर्ने कक्षका रुपमा यसको प्रयोग गरिन्थ्यो ।
झापा कक्षः यो कार्यकक्षमा छलफल तथा भेटघाट गर्न आउने पाहुनाका लागि प्रतीक्षालयका रुपमा थियो । इलाम कक्षः यो कक्षमा तत्कालीन राजाले हप्ताको एक दिन प्रधानमन्त्रीसँग भेट तथा अन्य बिशिष्ट व्यक्तिहरुसँग पनि भेटवार्ता र छलफल हुने कक्ष हो । सिराहा कक्षः यो बैठक कक्ष हो । सप्तरी भोजन कक्षमा भोजको आयोजना हुँदा खाना पछि र खाना अघि बसेर छलफल गर्ने कक्ष यही थियो । पर्सा, चितवन र कपिलवस्तु कक्षः यी कक्षहरुमा दरबारमा आएका राजपरिवारका सदस्य, राष्ट्रप्रमुख तथा सरकार प्रमुख आउँदा संगै आएका पाहुनाहरु बस्थे ।
यस्तै राजाका अंगरक्षकको कार्य कक्ष पनि खुला गरिएको छ । औपचारिक रुपमा खुला भएको घाषण गर्दै पर्यटन मन्त्री अधिकारीले अब यस दरबारमा फिल्म थिएटर र पुस्तकालय मात्रै सर्वसाधारणका लागि खोल्न बाँकी रहेको बताए ।
संग्राहलयमा कुल ५२ वटा कक्ष भएपनि ३१ वटा मात्रै खुला भएको छ । दरबार संग्राहलयले अब बाँकी रहेको २२ कक्ष भने तत्काल नखोल्ने जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्