मुम्बई, मंसिर ५ । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट ऋणमुक्त गराएका छन् । अमिताभको पैतृक थलो उत्तर प्रदेश नै हो ।
उनले बैंकको ऋणमा डुबेका ती किसानको सम्पूर्ण ऋण चुक्ता गरिदिएका हुन् । भारतमा ऋणकै कारण बर्सेनि सयौं किसानले आत्महत्या गर्दै आएका छन् ।
अमिताभले बैंकमा ती किसानले चुक्ता गर्न बाँकी चार करोड भारतीय रुपैयाँभन्दा बढी रकम तिरिदिएका हुन् । उनले ती किसानलाई बैंकले उपलब्ध गराउने ऋणचुक्ता सम्बन्धी दस्तावेज आफ्नै हातबाट सुम्पने तयारी गरेका छन् ।
अत्यन्त व्यस्त रहेका अमिताभले तत्काल उत्तर प्रदेश जान आफू असमर्थ रहेको र एक हजार तीन सय ९८ किसानलाई नै मुम्बई बोलाउन पनि सम्भव नभएका कारण ती किसानमध्येबाट ७० जनालाई मुम्बई बोलाएर बैंकको दस्तावेज हस्तान्तरण गर्ने योजना बनाएका छन् ।
मुम्बई आउनका लागि ७० जना किसानलाई रेलको एउटा डिब्बासमेत उनले रिजर्भ गरिदिएका छन् । २६ नोभेम्बरमा उनीहरु मुम्बई जाने र अमिताभको हातबाट ऋण चुक्ताको दस्तावेज लिने जनाइएको छ ।
यसअघि अमिताभले महाराष्ट्रका तीनसय ५० किसानको बैंक ऋण पनि चुक्ता गरिदिएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्