जथाभावी एन्टिबायोटिक्सको प्रयोग रोक्न स्वास्थ्य मन्त्री यादवको आग्रह

काठमाडौं, ३ मंसिर । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एन्टिबायोटिक्स दुरुपयोग रोक्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिजैविक प्रतिरोधी समस्याको विश्वव्यापी चुनौती र नेपालको अवस्थाका बारेमा विश्व एन्टिबायोटिक्स सचेतना सप्ताह व्यापी कार्यक्रम सार्वजनीक गर्दै मन्त्री यादवले एन्टिबायोटिक्स दुरुपयोग रोक्न सबै सचेत हुन र जनचेतना आवश्यक रहेको बताए । मन्त्री यादवले जथाभावी एन्टिवायोटिक औषधि प्रयोग नगर्न आग्रह गर्नु भएको छ । उहाँले आगामी दिनमा यस सम्बन्धी सचेतना कार्यक्रमलाई राष्ट्रिय कार्ययोजनाका साथ अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।
उनले विज्ञको परामर्श बिना नै एन्टिबायोटिक औषधि सेवनको गति दैनिक बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । सरकार एक्लैको प्रयास प्रभावकारी हुन नसक्ने बताएका मन्त्री यादवले सबै वर्ग र तहबाट ऐक्यवद्धता आवश्यक रहेको बताए ।
मन्त्री यादवले स्वास्थय मन्त्रालय एक्लैले केहि गर्न सकिंदैन यसको लागि सबै पक्षको सहकार्य गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो, जथाभावि एन्टिबायोटिक्स दुरुपयोग भएको छ । यसलाई रोक्न सचेताका साथै औषधि प्रयोग कर्ता, बिक्रिकर्तालाई तालिमको आवश्यकता भएको बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री सुरेन्द यादवले नेपालका अस्पतालहरुमा ‘इन्फेक्सन कन्ट्रोल’को विषयमा ध्यान नदिएको बताउनु भयो । उहाँले विरामीले एन्टिबायोटिक्स सेवन गर्दा बिचमै छोडिदिएको प्रति तिप्पणी गर्दै भने, “ब्याक्टेरिया मरेको हुँदैन, बीचमै औषधि सेवन गर्न छोडिदिने अवस्था छ। त्यसपछि अर्कोचोटी त्यसको प्रभावकारिता स्वतः घट्छ, त्यो एन्टिबायोटिक्सले काम गर्न खोज्छ ।” यादवले एक ठाउँमा दुरुपयोग भए अरु क्षेत्रमा पनि असर पर्ने बताउँदै उनले यसबारे जनचेतना आवश्यक रहेको कुरा औल्याउनु भयो ।
त्यस्तै कार्यक्रममा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दिपेन्द्ररमन सिंहले एन्टिबायोटिक्सको जथाभावी प्रयोग ‘स्लो पोइजनिङ’को रुपमा रहेको बताउनु भयो । उनले प्रतिजैविक प्रतिरोध अहिले विश्वमा प्रमुख जनस्वास्थ्य समस्या भएको औंल्याउँदै एन्टिबायोटिक्सको प्रभावकारिता घट्दै गएको दाबी गरे। एन्टिबायोटिक्सको चाहिनेभन्दा बढी सिफारिस, समयमा नखाने, खाँदा–खाँदै बीचमै छोड्ने, अस्पताल तथा क्लिनिकमा ‘इन्फेक्सन कन्ट्रोल’को कमीले समस्याहरु देखिएको बताउनु भयो । उनले यसका लागि जनचेतना, ‘इन्फेक्सन कन्ट्रोल’मा सजगता, अनुसन्धान र लगानी आवश्यक रहेको बताए । केही अनुसन्धानका अनुसार नेपालमा पनि मानिस र पशुपंक्षी दुवै क्षेत्रमा जीवाणुहरु बलियो बन्दै गइरहेका बताउनुभयो ।
पशु सेवा विभागकी उपमहानिर्देशक सम्झना काफ्लेले एन्टिबायोटिक्सको पशुपंक्षीमा पनि उत्तिकै प्रयोग हुने बताउँदै यसको प्रयोगलाई नियमन गर्ने निकाय एकदम कमजोर रहेको बताउँदै भयो । उहाँले मासुजन्य पदार्थ वा पशुपंक्षि तथा दाना प्रयोग गर्दा कति दिनमा प्रयोग गर्ने हो त्यसको पनि मापडण्डका साथै अनुगमन गर्नुपर्ने बताउनु भयो ।
हाल जिवाणु प्रतिरोधी संक्रमणहरुको कारण हरेक वर्ष विश्वभर करिब ७ लाख मानिसहरुको मृत्यु भइरहेको अनुमान छ । यही अवस्था कायम रहे सन् २०५० सम्ममा प्रतिवर्ष एक करोड मानिसहरुको मृत्यु हुने र करिब ६६ अरब पाउन्ड आर्थिक क्षति हुन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले यस अघि नै जनाई सकेका छ । यसको सबैभन्दा ठूलो असर नेपाल लगायत एसिया र अफ्रिकाका विकासोन्मुख देशहरुमा बढी पर्ने आँकलन गरिएको छ।
पहिले प्रभावकारी रहेका एन्टिबायोटिक्सहरुको प्रभाव घट्दै गइरहेको छ । तर, प्रतिरोधी जीवाणुको वास्तविक फैलावट स्थिति र एन्टिबायोटिक्स औषधिहरु कहाँ र कसरी प्रयोग भइरहेका छन् भन्ने ठोस तथ्यांक मन्त्रालयसंग समेत नभएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्