मोदीले दिएको श्रीखण्ड चन्दन आजदेखि पशुपतिनाथमा चढाइने

काठमाडौं, ३ मंसिर । आजदेखि मोदीले दिएको चन्दन पशुपतिनाथमा चढाइने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएकोे श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएका हो ।
विसं २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले दुई हजार ५०० किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए।
पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गर्नुभएको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।
सोमबारदेखि भित्र र बाहिर एकै किसिमको चन्दन वितरण गरिने पनि उने बताए । यसअघि भित्र र बाहिर फरकफरक चन्दन वितरण भएको गुनासो भक्तजनबाट आउने गरेको थियो । वर्षमा २५० किलो चन्दन भक्तजनलाई वितरण गर्ने कोषले जनाएको छ ।
वर्षभरका विशेष पर्व एवं मेलामा १५० किलो चन्दन लाग्छ । पशुपतिनाथ मन्दिरमा चढाउन हाल गुठी संस्थान र कौशीतोषाखानाले अढाई÷अढाई किलो गरी मासिक पाँच किलो चन्दन कोषलाई दिने गरेको सदस्य सचिव ढकालले सुनाए ।
त्यसले नपुग्ने भएकाले महीनामा एक किलो मोदीले दिनुभएको चन्दनबाट पशुपतिनाथ मन्दिरलाई थपिनेछ । बाह्र किलो चन्दन पशुपतिनाथलाई वार्षिक रुपमा थपिनेछ ।
वासुकीनाथलाई वार्षिक छ किलो गरी ४१८ किलो चन्दन वर्षमा खर्च हुनेछ । यो चन्दन छ वर्षसम्मलाई पुग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्