अरुण तेस्रो आयोजना अघि बढ्यो : पहुँच मार्ग निर्माण गर्न ठेकेदार कम्पनीको पूर्वयोग्यताको सूचना आह्वान

काठमाडौँ, २९ कार्तिक । नेपाल विद्युत प्राधिकरणले संखुवासभामा रहेको माथिल्लो अरुण जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
प्राधिकरणले आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना आह्वान गरेको छ । इच्छुक कम्पनीले आगामी २० पुसभित्र (४ जनवरी २०१९) आवेदन दिन सक्ने आयोजनाले जनाएको छ ।
विराटनगर–किमाथाङ्का (कोशी राजमार्ग) सडक अन्तर्गत गोला र वरुण बजारबीचमा पर्ने छङग्रानबाट आयोजनाको बाँधस्थल (चेपुवा नजिक)सम्मको पहुँच सडकमा २ किलोमिटर सुरुङ र २ वटा पक्की पुल बनाउनु पर्नेछ । सरकारले चीनसँगको नाका जोड्ने कोशी राजमार्गको निर्माण गरिरहेको छ ।
इच्छुक कम्पनीको प्रस्ताव मूल्याङकन गरी पूर्व योग्यतामा सफल भएका कम्पनीसँग चैतको पहिलो साताभित्रमा प्राविधिक तथा आर्थिक प्रस्तावका लागि टेण्डर आहन गर्ने कार्यतालिका साथ काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘परामर्शदाता कम्पनीले पहुँच सडकको डिजाइन गरिरहेको छ, सडक अभावका कारण आयोजनाको मुख्य संरचनाको निर्माण प्रभावित हुन नदिन सडक निर्माणका लागि टेण्डर आहन गरिएको हो’,घिसिङले भने, ‘पहुँच सडक निर्माण सुरु भएको २४ महिनाभित्र काम सक्ने र त्यसबीचमा आयोजनाको विस्तृत इक्जिनियरिङ सक्ने, लगानी जुटाउने, ठेकेदार छनोट गर्ने लगायतका काम समानान्तर रुपमा अगाडि बढाइने छ ।’ कम लागतमा बढी ऊर्जा (हिउँदमा) प्राप्त हुने भएकाले आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण अगाडि बढाइएको उनले बताए ।
प्राधिकरणले पहुँच सडक सन् २०१९को जुनबाट निर्माण सुरु गर्ने र सन् २०२१को जुनमा सक्ने योजना बनाएको छ । माथिल्लो अरुणको सन् २०२१को अप्रिलमा ठेकेदार कम्पनी छनोट गरी निर्माण सुरु गर्ने र सन् २०२६को सेप्टेम्बरमा सक्ने लक्ष्य राखिएको छ ।
सरकारले सर्वसाधारणलाई समेत शेयर दिने गरी आयोजना कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गरिसकेको छ । सरकारले प्राधिकरणको सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको हो । प्राधिकरणले आयोजना निर्माण गर्न अपर अरुण जलविद्युत लिमिटेड नामक कम्पनी स्थापना गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्